नेभिगेशन
खेलकुद

पहिलो चरणमै तोडिए गोलका कीर्तिमान, नयाँ इतिहास बन्ने दाउमा खेलाडी र देश

सन् २०२६ को विश्वकपको पहिलो चरणका खेलहरू नसकिँदै गोलका दुईवटा कीर्तिमान तोडिएका वा बराबरी भएका छन् ।
अल्जेरियाविरुद्ध तीन गोल गर्दै लियोनेल मेसीले आफ्नो विश्वकप खेल जीवनको पहिलो ह्याट्रिक पूरा गरे । यससँगै उनले विश्वकपमा सबैभन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानसँग बराबरी गरेका छन् ।
यो प्रतियोगितामा उक्त कीर्तिमान तोड्न सक्ने अर्का एक मात्र खेलाडी फ्रान्सका किलियन एम्बाप्पे हुन् । सोही साँझ मेसीभन्दा केही अघि भएको खेलमा सेनेगलविरुद्ध दुई गोल गर्दै उनले अर्जेन्टिनी कप्तान मेसीलाई पछि पारेका थिए । तर, पछि मेसीले ह्याट्रिक गरेपछि उनी पुनः मेसीभन्दा पछाडि परे ।
यता, जर्मनीले पनि क्युरासाओमाथि ७–१ को सानदार जित निकाल्दै विश्वकप इतिहासमा कुनै पनि देशले गरेको कुल गोलको कीर्तिमानमा ब्राजिललाई पछि पारेको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको २०२६ को यो प्रतियोगिता आकारका हिसाबले पहिले नै कीर्तिमानी बनिसकेको थियो ।
यो विश्वकपमा ४८ वटा टोली सहभागी छन्, जुन इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता हो । सन् १९९८ को फ्रान्स विश्वकपदेखि चल्दै आएको ३२ टोलीको संरचनामा यसपटक ५० प्रतिशतले वृद्धि गरिएको हो ।
यो वर्ष अझै धेरै कीर्तिमानहरू तोडिन बाँकी छन् । मैदानमा सबैभन्दा बढी समय बिताएको कीर्तिमान, व्यक्तिगत रूपमा सबैभन्दा बढी गोल र यदि ब्राजिलले जर्मनीबाट आफ्नो साख फिर्ता लिएमा देशगत रूपमा सर्वाधिक गोलको कीर्तिमान यसैपालि थपिने सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद