नेभिगेशन
अर्थतन्त्र

ललितपुरलाई उज्यालो महानगर बनाउन स्मार्ट सडक बत्ती जडान गरिँदै

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडान कार्यलाई तीव्रता दिएको छ । सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलंकीतर्फको चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो । महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक तथा अन्य मुख्य सडकमा समेत स्मार्ट बत्ती जडान कार्य अघि बढाइरहेको जनाएको छ । यसअन्तर्गत दोस्रो चरणमा ललितपुर क्षेत्रभित्रको ७.९ किलोमिटर चक्रपथ क्षेत्रमा लाइट जडान गर्ने योजना कार्यान्वयन भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा स्मार्ट बत्ती जडान कार्य गर्दै आएको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले बताए । उनका अनुसार सडकमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने आयोजना कार्यान्वयनका लागि महानगरपालिकाले १० करोड तथा विद्युत् प्राधिकरणले ३ करोड लगानी गरेको छ । कुल १३ करोड रुपैयाँ  लागतमा स्मार्ट स्ट्रिट लाइट जडानको काम अघि बढाइएको उनले बताए ।
नगरप्रमुख महर्जनले चक्रपथमा आधुनिक बत्ती जडान भएपछि सडक रातभर उज्यालो रहने, यात्रु तथा सवारी चालकलाई सहज हुने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा रहेको बताए । आयोजना अन्तर्गत महानगर क्षेत्रभित्र ११ मिटर अग्ला ३७१ वटा पोल, ८ मिटर अग्ला १९५, ७ मिटर अग्ला २२४ पोल तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गर्ने कार्य अगाडि बढेको छ । महानगरपालिकाले पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म सडक बत्ती जडान कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने र त्यसपछि क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने जनाएको छ । नगरप्रमुख महर्जनले आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउने जानकारी दिँदै स्मार्ट स्ट्रिट लाइट आयोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महŒवपूर्ण योगदान पुग्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्