नेभिगेशन
अर्थतन्त्र

सार्वजनिक यातायातमा बढाइँदै प्रविधिको निगरानी

काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन प्रविधिको प्रयोग बढाइएको छ । यात्रु सुरक्षा, सवारी व्यवस्थापन तथा प्रभावकारी निगरानीका लागि सार्वजनिक यातायातका साधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था लागू गरी प्रविधिबाट निगरानी बढाउँदै लगिएको हो । 
अहिलेसम्म उपत्यकामा सञ्चालनमा रहेका ३ हजार ३०३ वटा सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले उक्त प्रविधि जडान भए÷नभएको विषयमा नियमित अनुगमन थालेपछि यातायात व्यवसायीहरूले पनि जडानलाई प्राथमिकता दिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुव्र्यवहार, बढी भाडा असुली तथा सवारी सञ्चालन अवस्थाको निगरानीका लागि क्यामेरा र जिपिएस प्रणाली प्रभावकारी हुने बताए ।
‘गाडीमा यात्रुसँग हुने दुव्र्यवहार र बढी भाडा असुली नियन्त्रण गर्न यो प्रणालीले सहज बनाउनेछ । साथै, सवारी दुर्घटनामा ठूलो सवारीसाधन मात्र दोषी देखिने प्रवृत्ति अन्त्य गर्न र बिमा दुरुपयोग रोक्न पनि यसले सहयोग पु¥याउनेछ,’ उनले भने । उनका अनुसार जिपिएस प्रणाली जडानपछि सवारीधनीले आफ्नो सवारी कहाँ छ र कस्तो अवस्थामा सञ्चालन भइरहेको छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन् । यसले नियमित अनुगमन, चालकको जिम्मेवारी र यात्रु सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । त्यसैगरी, ड्यासक्यामेरा र सिसीक्यामेरा जडान भएपछि सवारीभित्रका गतिविधिको अभिलेख राख्न सकिने भएकाले विवाद समाधानमा समेत सहयोग पुग्ने ट्राफिक प्रहरीले जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस जडानलाई सकारात्मक कदमका रूपमा लिएको बताए ।
‘यो प्रविधि जडान राम्रो पहल हो । तर, सरकारले स्पष्ट कार्यविधि ल्याउन आवश्यक छ । कार्यविधि बनेपछि सबै सवारीसाधनमा जडान गर्न हामी तयार छौँ,’ उनले भने ।  सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै यातायात व्यवसायीहरूले समेत प्रविधि जडानमा प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सेवाका सवारीसाधनमा यस्तो प्रणाली अनिवार्य बनाउँदै यात्रु सुरक्षा र सवारी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने योजना रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रविधिमार्फत सार्वजनिक यातायातको निगरानी बढेपछि दुर्घटना न्यूनीकरण, यात्रुको गुनासो सम्बोधन तथा चालक–सवारीधनीको जिम्मेवारी निर्धारणमा थप सहजता आउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्