नेभिगेशन
अर्थतन्त्र

२५ अर्बभन्दा बढीका विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्ष (२०८२÷८३) को ११ महिनामा मा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ । साउनदेखि जेठ मसान्तसम्मको अवधिमा विभिन्न नाकाबाट यति मूल्यका विद्युतीय सवारी साधन आयात गरिएको हो । यो अवधिमा विभिन्न नाकाबाट १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन  आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा विभिन्न क्षमताका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन् । पेट्रोलियम पदार्थको बढ्दो लागत, वातावरणमैत्री यातायातप्रतिको रुचि तथा सरकारले प्रदान गरेको कर सहुलियतका कारण विद्युतीय सवारीको प्रयोग विस्तार हुँदै गएको देखिएको छ । विभागले यो अवधिमा ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय सवारी आयात भएको जनाएको छ । यी सवारीको कुल आयात मूल्य ५ अर्ब ६५ करोड छ । त्यस्तै, नेपाली बजारमा सबैभन्दा बढी माग देखिएको ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । यस वर्गका सवारीको आयात मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ रहेको विभागको तथ्यांकले देखाएको छ । त्यसैगरी, उच्च क्षमताका विद्युतीय सवारीको आयात पनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । पछिल्ला वर्षहरूमा निजी प्रयोगका सवारीसाधनदेखि सार्वजनिक यातायात तथा व्यावसायिक प्रयोजनका लागि समेत विद्युतीय सवारी प्रयोग बढ्दै गएको छ । चार्जिङ पूर्वाधार विस्तार, सञ्चालन खर्च कम हुनु तथा इन्धन आयातमा निर्भरता घटाउने सरकारी नीतिका कारण विद्युतीय सवारी साधनको बजार विस्तार भइरहेको सरोकारवालाहरू बताउँछन् । नेपालले हरित अर्थतन्त्र र स्वच्छ ऊर्जाको उपयोगलाई प्राथमिकता दिँदै विद्युतीय सवारीको प्रयोग बढाउने नीति अवलम्बन गरिरहेको छ । यसैको परिणामस्वरूप पछिल्ला वर्षहरूमा विद्युतीय गाडी आयातमा उल्लेखनीय वृद्धि देखिएको हो । विशेषगरी निजी सवारी प्रयोगकर्तामाझ विद्युतीय कार, एसयूभी तथा बहुउपयोगी सवारीको माग तीव्र गतिमा बढेको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्