नेभिगेशन
अर्थतन्त्र

आयल निगमको ट्यांकरबाट पेट्रोल चोरी

काठमाडौं । नेपाल आयल निगमको पेट्रोलियम ढुवानी गर्दै आएको एउटा ट्यांकरबाट पेट्रोल चोरी भएको छ । निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको हो । 
निगमका अनुसार नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्यांकर भारतीय आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते विराटनगरस्थित डिपो परिसरमा आएको थियो । तर, अर्को दिन असार ८ गते ट्यांकर पार्किङस्थलबाट हटाइएको  थियो । निगमले ट्यांकर हराएको जानकारी ढुवानीकर्तालाई तत्कालै गराएको थियो । साथै, निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई लिखित जानकारी गराउँदै घटनाको अनुसन्धान अघि बढाएको थियो । निगमले उपलब्ध गराएको सीसीटीभी फुटेजको अध्ययन गर्दा ट्यांकर असार ८ गते बिहान ३ बजेर ३ मिनेटमा पार्किङस्थलबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको थियो । त्यसलगत्तै निगमका कर्मचारी, प्रहरी तथा ढुवानीकर्ताका प्रतिनिधिले खोजी कार्य सुरु गरेका थिए । खोजीका क्रममा मोरङ–सुनसरी सडकखण्डअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित इटहरी राजमार्ग क्षेत्रमा ट्यांकर बेवारिसे अवस्थामा फेला परेको थियो । ट्यांकरको सिल तथा ताला काटिएको अवस्थामा भेटिएपछि घटनास्थलमै मुचुल्का तयार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको थियो । 
बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा ट्यांकरको सिल खोली गुणस्तर तथा परिमाण परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पेट्रोलको गुणस्तर सामान्य रहेको तर, २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल अभाव रहेको पुष्टि भएको निगमले जनाएको छ । बाँकी १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा रहेको व्यवस्थाअनुसार चोरी भएको परिमाणको दोब्बर रकम दुगानीकर्ताबाट असुल गरिएको जनाएको छ । निगमले घटनाको विषयमा सम्बन्धित सरकारी निकायबाट अनुसन्धान जारी रहेको र अनुसन्धान निष्कर्षमा पुगेपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ । निगमले चोरी भएको पेट्रोलको मूल्य बराबरको दोब्बर रकम सम्बन्धित ढुवानीकर्ताबाट असुल गरिएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्