नेभिगेशन
अर्थतन्त्र

सातदोबाटो–एकान्तकुनाको जाम हटाउन अन्डरपास निर्माण गरिने

काठमाडौं । सरकारले सातदोबाटो र एकान्तकुना चोकमा अन्डरपास निर्माणको प्रक्रिया अघि बढाएको छ । ललितपुरको ग्वार्को ओभरपास सञ्चालनमा आएपछि चक्रपथको ट्राफिक व्यवस्थापनमा केही सुधार देखिए पनि सातदोबाटो र एकान्तकुना क्षेत्रमा बढ्दो सवारी चापका कारण जामको समस्या यथावत् रहेकाले अत्यधिक सवारी जाम हुने यी स्थानमा पनि अन्डरपास निर्माणको प्रक्रिया थालिएको हो । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि यी दुई चोक सुधार आयोजनाको प्रारम्भिक काम सुरु गर्न १२ करोड ६६ लाख रुपैयाँ बजेट पनि विनियोजन गरिसकेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट मुख्य गरी दुवै आयोजना निर्माणको प्रारम्भिक तयारी, ठेक्का प्रक्रिया, निर्माण कम्पनी परिचालनलगायत कामका लागि खर्च गरिने भएको छ । आयोजना सम्पन्न गर्न भने १ अर्ब ५० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । मन्त्रालयले यी दुई चोक सुधार आयोजनाको विस्तृत अध्ययनका आधारमा ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । यी आयोजनालाई बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । सरकारले यी आयोजनालाई ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमार्फत कार्यान्वयन गर्ने तयारी गरेको छ । यस मोडलअन्तर्गत ठेक्का प्राप्त कम्पनीले विस्तृत डिजाइन तयार पार्ने, आवश्यक सामग्री खरिद गर्ने तथा निर्माण कार्य सम्पन्न गर्ने सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्नेछ । डिजाइनदेखि निर्माण सम्पन्न गरी हस्तान्तरणसम्मको जोखिम निर्माण कम्पनीकै हुने भएकाले लागत वृद्धि तथा ढिलासुस्ती नियन्त्रण गर्न यो मोडल प्रभावकारी हुँदै आएको छ । सातदोबाटो र एकान्तकुनामा आधुनिक ट्राफिक संरचना निर्माण सम्पन्न भए कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ खण्डमा सवारी आवागमन थप व्यवस्थित हुनेछ । यसबाट यात्रा समय घट्ने, इन्धन बचत हुने, वायु प्रदूषण कम हुने तथा उपत्यकाको समग्र ट्राफिक व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ । चीन सरकारको सहयोगमा २०७३ सालमा कलंकीदेखि कोटेश्वरसम्मको १०.२ किलोमिटर चक्रपथ ८ लेनमा विस्तार गरिएको थियो । सडक फराकिलो बने पनि कलंकीबाहेक अन्य प्रमुख चोकमा आधुनिक ग्रेड सेपरेटेड संरचना निर्माण नहुँदा बल्खु, एकान्तकुना, सातदोबाटो र ग्वार्को क्षेत्रमा ट्राफिक जामको समस्या अस्तव्यस्त थियो । कलंकीमा निर्माण गरिएको अन्डरपासले त्यहाँको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याएको छ भने हाल सञ्चालनमा रहेको ग्वार्को ओभरपासले पनि सो क्षेत्रको जाम कम गर्न सहयोग गरेको छ । तर, सातदोबाटो र एकान्तकुनामा अझै पनि दैनिक हजारौं सवारीसाधन लामो समयसम्म जाममा फस्नुपर्ने अवस्था छ । सडक विभागका अनुसार सातदोबाटो र एकान्तकुना चोकको रणनीतिक महत्त्वका कारण यी क्षेत्रलाई प्राथमिकतामा राखिएको हो । सातदोबाटो चक्रपथको मुख्य नाकामात्र नभई दक्षिण ललितपुर, चापागाउँ, लेले तथा कान्तिलोकपथतर्फ जाने सवारीसाधनको प्रमुख प्रवेशद्वार हो । लगनखेल, सुनाकोठी र चापागाउँ क्षेत्रबाट आउने तथा जाने सवारीको चापका कारण यो चोक उपत्यकाकै व्यस्त ट्राफिक केन्द्रमध्ये एक बनेको छ । सातदोबाटो क्षेत्रमा अन्तर्राष्ट्रिय खेलकुद परिसर, विभिन्न शैक्षिक संस्था, अस्पताल तथा व्यापारिक केन्द्रको विस्तारसँगै पैदलयात्री र सवारीसाधनको चाप निरन्तर बढिरहेको छ । विशेषगरी बिहान र साँझको व्यस्त समयमा यहाँ लामो जाम हुने गरेको छ । यस्तै, एकान्तकुना चोक पनि ललितपुरको तीव्र सहरीकरणसँगै अत्यधिक व्यस्त बन्दै गएको छ । भैंसेपाटी, बुङ्मती, खोकना तथा आसपासका बस्तीलाई चक्रपथसँग जोड्ने मुख्य केन्द्रका रूपमा रहेको यो क्षेत्रमा दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् । नजिकै रहेको यातायात व्यवस्था कार्यालयका कारण पनि यहाँ अतिरिक्त ट्राफिक दबाब सिर्जना हुने गरेको छ । सडक विभागका अनुसार भविष्यमा काठमाडौं–तराई द्रुतमार्ग सञ्चालनमा आएपछि खोकना क्षेत्र हुँदै चक्रपथमा जोडिने सवारीसाधनको संख्या थप बढ्ने भएकाले अहिले नै दीर्घकालीन समाधान आवश्यक देखिएको हो । 
प्रारम्भिक अध्ययनअनुसार यी क्षेत्रमा पनि आवश्यकता र भौगोलिक अवस्थाअनुसार फ्लाईओभर, ओभरपास वा अन्डरपासमध्ये उपयुक्त संरचना निर्माण गरिनेछ। केही स्थानमा अन्डरपास र केही स्थानमा फ्लाईओभरको संयोजन आवश्यक पर्न सक्ने अध्ययनले देखाएको छ । विशेषगरी नख्खु दोबाटो क्षेत्रमा सांस्कृतिक तथा धार्मिक गतिविधिलाई ध्यानमा राख्दै अन्डरपास उपयुक्त विकल्प हुन सक्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्