नेभिगेशन
अर्थतन्त्र

नेप्से घट्ने क्रममा लागेन ब्रेक,कारोबार रकम पनि घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार पनि घटेको छ । नेप्से ८.५० अंकले घटेर दुई हजार ६५१.५२ विन्दुमा झरेको हो । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक ०.३१ प्रतिशतले घटेको हो । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेपछि नेप्से राताम्मे बनेर बन्द भएको छ ।
कारोबार अवधिभर बजारमा उतारचढाव देखिए पनि अन्तिम समयमा बिक्री चाप बढ्दा परिसूचक नकारात्मक बनेको हो । बिहीबार ३३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर ४६ हजार ७५१ पटक किनबेच भएको नेप्सेले जनाएको छ । बिहीबार कारोबार रकम पनि घटेको छ । यसअघिका दिनमा दैनिक ४ अर्ब रुपैयाँ बढीको कारोबार भएपनि बिहीबार २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । बिहीबार ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ । बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनीको संख्या उल्लेख्य रूपमा बढी रहेकाले समग्र बजारमा नकारात्मक प्रभाव परेको देखिएको हो । कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार गर्ने सोपन फर्मास्युटिकल्स लिमिटेड अग्रस्थानमा रह्यो । यो कम्पनीको कारोबार केही दिनदेखि उच्च छ । बिहीबार कम्पनीको १२ करोड ७७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड छ  । यो कम्पनीले  १२ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले पनि १० करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार गर्दा आँखु खोला जलविद्युत् कम्पनी लिमिटेडको पनि १० करोड ३५ लाख रुपैयाँ तथा नेपाल एसबिआई बैंक लिमिटेडको ८ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
मूल्यवृद्धिका आधारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड र याम्बालिङ हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहे । दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १२.८४ प्रतिशतले वृद्धि भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको मूल्य ५.१६ प्रतिशत तथा कालिञ्चोक हाइड्रोपावर लिमिटेडको मूल्य ३.३४ प्रतिशतले बढेको छ । 
बजार विश्लेषकहरूका अनुसार लगानीकर्ता अझै स्पष्ट संकेतको प्रतीक्षामा रहेकाले पनि नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको छ । आगामी मौद्रिक नीति, बैंकिङ प्रणालीमा रहेको तरलताको अवस्था, ब्याजदरको प्रवृत्ति तथा समग्र आर्थिक गतिविधिले बजारको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ । यही कारण लगानीकर्ता सबै क्षेत्रमा समान रूपमा सक्रिय नभई केही चयनित कम्पनीमा केन्द्रित देखिएका छन् । बिहीबारको कारोबारपछि नेप्सेको कुल बजार पुँजीकरण ४५ खर्ब ३८ अर्ब रुपैयाँभन्दा बढी भएको छ । त्यस्तै, फ्लोट बजार पुँजीकरण १५ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढी कायम रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्