नेभिगेशन
अर्थतन्त्र

देशभर १० प्रतिशत धान रोपाइँ सकियो

काठमाडौं । देशभरमा करिब एक लाख ३७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । १३ लाख ८१ हजार हेक्टर जमिनमा धान खेती गरिनेमा यो वर्ष १० प्रतिशत रोपाइँ सकिएको हो । धान मुलुकको प्रमुख खाद्यान्न बाली भएकाले असार महिनासँगै किसानहरू रोपाइँमा व्यस्त हुने गर्छन् । तर, यस वर्ष पर्याप्त वर्षा नहुँदा धेरै स्थानमा किसानहरूले रोपाइँ सुरु गर्न पाएका छैनन् । कृषि विभागका अनुसार असार ८ गतेसम्मको तथ्यांकमा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत रोपाइँ भएको छ । बागमती प्रदेशमा २.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धान उत्पादनका दृष्टिले महŒवपूर्ण मानिने तराई क्षेत्रमा रोपाइँको गति निकै सुस्त देखिएको छ । तराई क्षेत्रमा हालसम्म करिब ५ प्रतिशत मात्र रोपाइँ भएको विभागले जनाएको छ । तराई क्षेत्रमा पर्याप्त वर्षा नभएकाले तथा असार १५ गतेपछि मात्रै रोपाइँ गर्ने क्रम बढ्ने हुँदा पनि पहाडी जिल्लाको तुलनामा तराईमा रोपाइँ कम देखिएको हो । धान उत्पादन र खेती क्षेत्रफलका हिसाबले तराई क्षेत्रलाई नेपालको प्रमुख अन्न भण्डार मानिन्छ । कुल धान उत्पादनमध्ये करिब ७० प्रतिशत योगदान तराई क्षेत्रबाट हुने गरेको छ भने बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट प्राप्त हुने गरेको छ । 
कृषि विभागका महानिर्देशक प्रकाशकुमार संजेलले मनसुन ढिलो सक्रिय भएका कारण रोपाइँका लागि आवश्यक वर्षा पर्याप्त हुन नसकेको बताए । उनका अनुसार धेरै जिल्लामा खेतमा पानीको अभाव रहेकाले किसानहरू रोपाइँका लागि पर्खन बाध्य भएका छन् । समयमै पर्याप्त वर्षा भए आगामी दिनमा रोपाइँले तीव्रता पाउने अपेक्षा गरिएको छ । नेपालमा धान खेती मौसमसँग प्रत्यक्ष रूपमा जोडिएको छ । समयमै वर्षा नहुँदा बिउ राख्ने, ब्याड तयार गर्ने र रोपाइँ सम्पन्न गर्ने कार्यतालिकामा असर पर्ने गर्छ । यसका अतिरिक्त प्राकृतिक विपद्, अतिवृष्टि, अनावृष्टि तथा रासायनिक मलको उपलब्धतासम्बन्धी समस्याले पनि कतिपय क्षेत्रमा धान रोपाइँ प्रभावित हुने गरेको विभागले जनाएको छ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले किसानहरूलाई आधुनिक कृषि प्रविधि, उन्नत बीउबिजन, मौसमसम्बन्धी सूचना तथा उत्पादन वृद्धि गर्ने नयाँ अभ्यासबारे नियमित जानकारी उपलब्ध गराउँदै आएको छ । कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षालाई सुदृढ बनाउन नवीन प्रविधिको प्रयोग तथा मौसमअनुकूल खेती प्रणाली अपनाउन किसानलाई प्रोत्साहित गरिँदै आएको केन्द्रले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रोपाइँको प्रतिशत ०.४ प्रतिशतले बढी भए पनि समग्र रूपमा रोपाइँले अझै गति लिन सकेको छैन । आगामी केही दिनमा मनसुन सक्रिय भई पर्याप्त वर्षा भए देशभर रोपाइँको चाप बढ्ने र किसानहरू खेतमा व्यस्त हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्