नेभिगेशन
खेलकुद

यसपाला बढी गोल किन भइरहेको छ ?

यस विश्वकपमा धेरै गोलकिपरहरूले असाधारण प्रदर्शन गरेका छन् । स्पेनविरुद्ध केप भर्डेका गोलरक्षक भोजिन्हाले आफ्नो देशको पहिलो विश्वकप सहभागितामा उत्कृष्ट बचाउ गर्दै स्पेनलाई गोल गर्नबाट रोके । कुरासाओका गोलकिपर एलोय रुमले कीर्तिमान बराबरीका १५ बचाउ गर्दै आफ्नो टोलीलाई इतिहासकै पहिलो विश्वकप अंक दिलाए । इरानका अलिरेजा बेरानभान्दले पनि बेल्जियमविरुद्ध गोलरहित बराबरीमा महŒवपूर्ण भूमिका खेले ।
तर अर्कोतर्फ, केही अन्तर्राष्ट्रिय स्तरका चर्चित गोलकिपरहरू बलमा हात लगाएर पनि गोल रोक्न असफल भएका छन् । इङ्ग्ल्यान्डका जोर्डन पिकफोर्ड र सेनेगलका एडुआर्ड मेन्डी यस्ता चर्चित नाम हुन्, जसले बल छोए पनि गोल हुनबाट जोगाउन सकेनन् । त्यस्तै अल्जेरियाका लुका जिदानले अर्जेन्टिना र जोर्डनविरुद्ध यस्तै तरिकाले दुई गोल खाइसकेका छन् । इराकका गोलकिपर अहमद बासिलले पनि किलियन एम्बाप्पेको टाढाबाट आएको प्रहारमा हात लगाएका थिए तर गोल हुनबाट रोक्न सकेनन् ।

यसपछि बीबीसी स्पोर्टका विश्लेषक तथा पूर्व इङ्ग्ल्यान्ड गोलकिपर जो हार्टले एउटा सम्भावित कारण औँल्याउँदै भने, “यो विश्वकपमा यस्ता गोल धेरै देखिरहेको छु । यदि यो केवल संयोग मात्र हो भने धेरै नै भयो । मलाई लाग्छ बलमै केही फरक छ ।”
बलले फरक पारिरहेको हो ?
डेनमार्कका पूर्व गोलकिपर कास्पर स्माइकलका अनुसार पछिल्लो बलका कारण सारा फरक फरिरहेको छ । स्माइकलले विश्वकप सुरु हुनुअघि नै सन् २०२५ अक्टोबरमा सार्वजनिक भएको एडिडासको नयाँ बल ट्रियोन्डासँग अभ्यास गरेका थिए । हाल संन्यास लिइसकेका उनले भने, “यो बलको मुख्य विशेषता यसको चार–प्यानेल संरचना हो । यसमा सिलाइ छैन, सबै भाग जोडेर बनाइएको छ ।”
उनका अनुसार मौसम, हावाको घनत्व र बलको संरचनाले हावामा प्रतिरोध (ड्रयाग) कम बनाउँछ । ड्र्याग कम हुँदा बल कम घुम्छ, तर मलाई लाग्छ यो अलिकति छिटो यात्रा गर्छ । हामीले त्यसको प्रभाव देखिरहेका छौं ।
उनले पिकफोर्ड, लुका जिदान र मेन्डीले खाएका केही गोल उदाहरणका रूपमा प्रस्तुत गर्दै भने, “फुटबलमा धेरै गोल होऊन् भन्ने चाहना हुन्छ, त्यसैले बलहरू पनि गोल हुन सहयोग गर्ने गरी बनाइन्छन् ।”
बाहिरबाट गरिने गोलको संख्या दोब्बर
यस विश्वकपमा गोलको वर्षा भइरहेको छ । अप्टाको तथ्यांकअनुसार, समूह चरणमै बक्सबाहिरबाट २० गोल भएका छन्, जुन सन् २०२२ को विश्वकपको सम्पूर्ण समूह चरणमा भएका गोलभन्दा दोब्बर हो । यसबाहेक पनि गोलमा परिणत भएका गोलकिपर तथा डिफेन्सका गल्तीहरूको संख्या पनि बढेको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको प्रतियोगितामा अहिलेसम्म ११ वटा गल्तीबाट गोल भएका छन् । यो पछिल्ला सात विश्वकपका समूह चरणहरूमध्ये सबैभन्दा बढी हो ।
जो हार्ट भन्छन्, “उच्च स्तरको फुटबलमा गोलकिपरले बल छोएपछि पनि गोल हुने घटना धेरै दुर्लभ हुन्छ । सामान्यतया उनीहरू सम्पर्क भएपछि बललाई पोस्टबाहिर धकेल्न सक्षम हुन्छन् । तर यो प्रतियोगितामा धेरै गोलकिपरहरूले काँधमाथिको उचाइमा बल छोए पनि गोल रोक्न सकेका छैनन् । त्यसैले केही न केही फरक अवश्य छ ।”
एडिडासको दाबी फरक
एडिडासले ट्रियोन्डा बल विकास गर्न करिब साढे तीन वर्ष लगाएको थियो र झन्डै ३०० प्रयोगशाला परीक्षण गरेको थियो । विश्वकपका १६ आयोजक सहरमध्ये सात सहरमा यसको परीक्षणसमेत गरिएको थियो । एडिडासका अनुसार चार–प्यानेल संरचना, गहिरा सिम र सतहमा बनाइएका विशेष डिजाइनहरूले बललाई उडानका क्रममा स्थिरता प्रदान गर्छन् ।
कम्पनीको भनाइ छ, “बलको सतहले हावामा समान रूपमा प्रतिरोध सिर्जना गरेर यसको उडानलाई स्थिर बनाउँछ ।” साथै, बलको सतहमा रहेको बनावटले वर्षा वा आद्र मौसममा ड्रिब्लिङ र प्रहार गर्दा थप ग्रिप पनि दिन्छ ।
‘गोलकिपिङ नै सानो अन्तरको खेल हो’
यद्यपि केही गोलकिपरले नयाँ बलसँग छिट्टै तालमेल मिलाएका छन् भने केहीले कठिनाइ भोगिरहेका छन् । जो हार्टका अनुसार, धेरै गोलकिपरहरूले बलको गति र दिशा अनुमान गर्न समस्या भोगिरहेका छन्, विशेष गरी बल धेरै नघुमेको अवस्थामा । स्माइकलको निष्कर्ष पनि उस्तै छ, “यो बल धेरै डुल्दैन, तर खेलाडीले हानेपछि यसको गति अलिकति फरक हुन्छ । फरक धेरै ठूलो होइन तर गोलकिपरका लागि त्यति मात्रै पनि पर्याप्त हुन्छ । आखिर गोलकिपिङ भनेकै सानो अन्तरले निर्णय हुने खेल हो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्