नेभिगेशन
खेलकुद

ममदानीले टिकट सस्तो बनाइदिने

न्यूयोर्कका मेयर जोहरान ममदानीले विश्वकपबाट “पर्याप्तभन्दा बढी” आम्दानी हुने भएकाले समर्थकहरूले महँगो टिकट र अन्य अतिरिक्त खर्चको भार बोक्न नपर्ने बताएका छन् ।
संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको विश्वकप इतिहासकै सबैभन्दा महँगो प्रतियोगितामध्ये एक बनेको छ । पहिलो चरणका धेरै खेलहरूको टिकट मूल्य ३५० देखि ५,००० अमेरिकी डलरसम्म (करिब २६० देखि ३,७३५ पाउन्ड) पुगेको छ । यसका अतिरिक्त समर्थकहरूले होटल र यातायात खर्चमा पनि उल्लेख्य वृद्धि बेहोर्नुपरेको छ ।
प्रशंसकहरूको विरोधपछि न्यूयोर्क–न्यूजर्सी स्टेडियमसम्म पुग्ने रेल र बसको भाडा केही घटाइए पनि त्यो अझै सामान्य भाडाभन्दा करिब १० गुणा महँगो छ । जनवरीमा न्यूयोर्कका मेयर बनेका ३४ वर्षीय जोहरान मामदानीका अनुसार, फिफाले चाहे विश्वकपलाई सबैका लागि किफायती बनाउन सक्थ्यो ।
फुटबलको विश्व नियामक संस्था फिफाले यस विश्वकपबाट करिब ९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ, जुन २०२४ को पेरिस ओलम्पिकको आम्दानीभन्दा पनि बढी हो । ममदानीले भने, “हामीले सुरुदेखि नै यो विश्वकप सबैका लागि होस् भन्ने चाहेका थियौँ ।
‘न्युजर्सी ट्रान्जिट’ले स्टेडियमसम्म पुग्नका लागि करिब १०० डलरको टिकट राखेको छ । त्यो उनीहरूको निर्णय हो र घाटा नहोस् भनेर उनीहरूले यस्तो गर्नुपरेको अवस्थालाई म बुझ्छु तर यसको एउटा कारण फिफासँग भएको आयोजक सहरसम्बन्धी सम्झौता पनि हो । मेरो विचारमा, यस विश्वकप मात्र होइन, हरेक विश्वकपबाट यति धेरै आम्दानी हुन्छ कि ती खर्चहरू त्यहीँबाट व्यवस्थापन गर्न सकिन्छ, र त्यसको भार समर्थकहरूले बोक्नुपर्ने हुँदैन ।”
प्रतियोगिता सुरु हुनुअघि बीबीसी स्पोर्टले गरेको एक विश्लेषणअनुसार, इङ्ग्ल्यान्डका समर्थकले समूह चरणका तीनवटै खेल प्रत्यक्ष हेर्न करिब ६,५०० पाउन्ड खर्च गर्नुपर्ने अवस्था थियो । मामदानीले न्यूयोर्कले समर्थकहरूका लागि केही राहतका उपाय पनि ल्याएको बताए । शहरभरि निःशुल्क ‘फ्यान जोन’ सञ्चालन गरिएको छ । उनले भने, “टिकटको मूल्य देख्दा धेरै मानिस विश्वकपमा सहभागी हुन नसक्ने हो कि भन्ने चिन्ता थियो । म गर्वका साथ भन्न सक्छु कि हामीले प्रत्येक खेलका लागि ५० डलर मूल्यका १,००० टिकट उपलब्ध गरायौँ । साथै, पाँचै वटा बरोमा निःशुल्क ‘फ्यान फेस्ट’ आयोजना गरिरहेका छौँ । म पदमा आउँदा ती कार्यक्रममा शुल्क लिने योजना थियो, तर त्यो हटाइएकोमा म खुसी छु ।
हामी यो अवसरलाई पर्यटक र न्यूयोर्कवासी दुवैले शहरलाई नयाँ ढंगले चिन्ने अवसरका रूपमा लिन चाहन्छौँ । विश्वकप विशेष २६ डलरको ‘मिल डिल’ कार्यक्रममा शहरका ९०० बार र रेस्टुरेन्ट सहभागी भएका छन् । हामी विश्वकपलाई सबैका लागि किफायती र समावेशी बनाउन चाहन्छौँ । यो खेलकुदलाई केवल विलासी वस्तु बनाउने प्रवृत्तिविरुद्धको प्रयास पनि हो । खेल सबैका लागि हुनुपर्छ, धनीहरूका लागि मात्र होइन ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्