नेभिगेशन
अर्थतन्त्र

स्वदेशी उत्पादनको प्रयोग बढाई कृषि उद्यमीको मनोबल बढाउनमा जोड

काठमाडौं । स्वदेशी कृषि तथा दुग्धजन्य उत्पादनको प्रयोग बढाएर किसान, कृषि उद्यमी तथा डेरी उद्योगीको मनोबल अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । २३औं राष्ट्रिय धान दिवस तथा असार १५ (रोपाइँ महोत्सव–२०८३) अगाडि नेपाल डेरी एसोसिएसनले आयोजना गरेको ‘दही–चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रम–२०८३’ मा सहभागी वक्ताहरूले स्थानीय उत्पादनको उपभोग विस्तार नै कृषि र दुग्ध क्षेत्रको दिगो विकासको आधार हुने धारणा राखेका हुन् । ‘दही–चिउरा खाऔं, धान दिवस मनाऔं; स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढाऔं’ भन्ने मूल नारासहित थापागाउँस्थित गाउँघर चौतारी बजारमा आयोजित कार्यक्रममा कृषि, दुग्ध तथा निजी क्षेत्रका प्रतिनिधिहरूले नेपाली उत्पादनलाई प्राथमिकता दिन सबैलाई आग्रह गरे । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ उपस्थित थिए । कार्यक्रमको उद्घाटन उनले नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठलाई दही–चिउरा सेवन गराएर गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले स्वदेशी उत्पादनको बढ्दो प्रयोगले नेपाली किसान र उद्योगीलाई प्रत्यक्ष लाभ पुग्ने मात्र नभई विदेशी मुद्रा बाहिरिने क्रमसमेत घट्ने बताए । नेपाली मौलिक खाद्य संस्कृति संरक्षणका लागि होटल तथा रेस्टुरेन्टहरूले पनि स्थानीय परिकारलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । आफूले सञ्चालन गरेको होटलमा विदेशी पाहुनालाई मोहीमार्फत स्वागत गर्ने गरेको उल्लेख गर्दै उनले अन्य व्यवसायीलाई पनि नेपाली दुग्धजन्य परिकारलाई मेनुमा समावेश गर्न आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधि, कृषि क्षेत्रका विज्ञ, डेरी उद्योगी, दुग्ध उत्पादक किसान, सहकारीकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । वक्ताहरूले कृषि र दुग्ध क्षेत्र एकअर्काका परिपूरक भएकाले स्थानीय उत्पादनको उपभोग बढाएर किसानको आय वृद्धि, उद्योगको उत्पादन विस्तार र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सकिने धारणा व्यक्त गरेका थिए । राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधि शंकर अधिकारीले दही–चिउरा जस्ता मौलिक नेपाली परिकारको प्रवर्धनले स्थानीय उत्पादनको बजार विस्तार गर्न र किसान तथा उद्योगीको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठले नेपाल डेरी एसोसिएसनले सञ्चालन गर्दै आएको मोही प्रवर्धन अभियान सफल भएको उल्लेख गर्दै अन्य दुग्धजन्य उत्पादनको बजार विस्तारका लागि पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा दुग्ध क्षेत्रको वर्तमान अवस्था, उत्पादन वृद्धि, बजार व्यवस्थापन, जलवायुमैत्री कृषि प्रविधिको प्रयोग तथा दुग्धजन्य पदार्थको उपभोग विस्तारका विषयमा छलफल गरिएको थियो । यस अवसरमा दुग्ध क्षेत्रका अवसर र चुनौती समेटिएको प्रेस विज्ञप्ति सार्वजनिक गर्नुका साथै सहभागीलाई दूध तथा दुग्धजन्य पदार्थ र हाईलाइफ चिउरा समावेश गरिएको मायाको चिनो वितरण गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्