काठमाडौं । कोशी प्रदेशलाई नेपालको अग्रणी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजित ‘कोशी टुरिज्म कन्क्लेभ–२०८३’ ले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि आठबुँदे साझा प्राथमिकता तय गरेको छ । सीमापार पर्यटन विस्तार, समुदायमा आधारित ग्रामीण पर्यटन प्रवर्धन, पर्यटन सूचना केन्द्र स्थापना, नेपाल पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय स्थापना तथा पर्यटकमैत्री सेवा विस्तारलाई कन्क्लेभले आगामी कार्ययोजनाको मुख्य प्राथमिकताका रूपमा अघि सारेको हो । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सम्पन्न कन्क्लेभले सीमापार तथा अन्तरदेशीय पर्यटन सहकार्य विस्तार, गाउँ केन्द्रित समुदायमा आधारित पर्यटन विकासमा जोड दिइएको छ । यस्तै, स्थानीय संस्कृति, वास्तुकला र रैथाने खानाको संरक्षण तथा प्रवर्धन, पर्यटनसम्बन्धी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन, संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रबीच संयुक्त पर्यटन प्रवर्धन अभियान सञ्चालनलाई पनि प्राथमिकतामा राखिएको छ । कोशी प्रदेशमा पर्यटन सूचना केन्द्र स्थापना, नेपाल पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि पहल तथा पर्यटक प्रहरी र पर्यटक हटलाइन सेवा सञ्चालनलाई साझा प्राथमिकताका रूपमा अघि बढाउने लक्ष्य लिइएको छ । कन्क्लेभमा कोशी प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, लगानी, पूर्वाधार विकास, सीमापार सहकार्य तथा दिगो पर्यटनका विविध आयाममा केन्द्रित तीन चरणका प्यानल छलफल सञ्चालन गरिएको थियो । पहिलो सत्रमा पर्यटन क्षेत्रमा निजी लगानी आकर्षण, नीतिगत सुधार र पूर्वाधार विकासका विषयमा छलफल भएको थियो । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले भारत र बंगलादेशलाई लक्षित गरी क्षेत्रीय पर्यटन बजार विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । दोस्रो सत्रमा ग्रामीण तथा समुदायमा आधारित पर्यटन, स्थानीय जनसहभागिता र मौलिक संस्कृतिको संरक्षणमार्फत पर्यटन विस्तारका उपायमाथि छलफल भएको थियो भने तेस्रो सत्रमा नेपाल–भारत सीमापार पर्यटन, सीमा नाकामा पर्यटकमैत्री सेवा र अन्तरदेशीय पर्यटन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विज्ञहरूले सुझाव दिएका थिए । कन्क्लेभमा ‘कोशी प्रदेशमा आरोग्य पर्यटन’ विषयमा योग तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारी तथा ‘कोशी प्रदेशमा पर्वतीय पर्यटनको सम्भावना र दिगो विकास’ विषयमा पर्यटन नीति विज्ञ डा. अनुकुमारी लामाले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य, प्राकृतिक र पर्वतीय पर्यटनलाई एकीकृत रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । पर्यटन, वन तथा वातावरण मन्त्री भीमप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि थिए। कार्यक्रममा प्रदेश सभाका सभामुख अम्मरबहादुर बिष्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, नाटाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियालगायत पर्यटन क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त प्रदेश भएको बताए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन गुरुयोजना निर्माण, नीतिगत सुधार, साहसिक तथा शैक्षिक पर्यटन प्रवर्धन र सार्वजनिक–निजी साझेदारीमार्फत लगानी विस्तारमा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए । पर्यटन, वन तथा वातावरण मन्त्री भीमप्रसाद पराजुलीले पर्यटन क्षेत्रलाई रोजगारी सिर्जना र आर्थिक समृद्धिको महŒवपूर्ण आधारका रूपमा अघि बढाउन प्रदेश सरकारले पूर्वाधार विकास, नयाँ गन्तव्यको पहिचान तथा पर्यटन प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए ।