नेभिगेशन
अर्थतन्त्र

साउदीसँग सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न श्रम मन्त्री यादवको आग्रह

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले साउदी अरबले नेपाली श्रमिकका लागि लागू गर्न लागेको सिप प्रमाणीकरण (एसभीपी) प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन् । उनले उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको वैदेशिक रोजगारी प्रभावित हुन सक्ने भन्दै भिसा जारी गर्ने हालको प्रक्रिया यथावत् राख्न र श्रमिकको रोजगारीमा कुनै अवरोध आउन नदिन साउदी पक्षसँग विशेष अनुरोध गरेका हुन् । नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद मोहम्मद ए. मिन्खरसँग भएको भेटवार्ताका क्रममा मन्त्री यादवले हाल साउदी जान तयारी अवस्थामा रहेका हजारौं नेपाली श्रमिक सिप प्रमाणीकरणसम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै त्यसको तत्काल समाधान खोज्न आग्रह गरे। भेटमा साउदी दूतावासका प्रथम सचिव अब्दुल रहमान के. घोषोम पनि सहभागी थिए । मन्त्री यादवले सिप प्रमाणीकरण प्रक्रिया लागू गर्नुअघि नेपाल र साउदी अरबबीच आवश्यक परामर्श, आपसी सहमति तथा स्थापित द्विपक्षीय संयन्त्रमार्फत विषय टुंगो लगाइनुपर्नेमा जोड दिए । उनले नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर निर्णय गर्न तथा वैदेशिक रोजगारीको प्रक्रियामा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिन साउदी सरकारको ध्यानाकर्षण गराए । विशेष गरी सिप प्रमाणीकरण प्रक्रियाले भिसा जारी गर्ने कार्य प्रभावित हुन सक्ने भएकाले हाल सञ्चालनमा रहेको भिसा प्रक्रिया निरन्तर जारी राख्न उनले आग्रह गरे । नेपाली श्रमिकको रोजगारी, श्रम आपूर्ति र द्विपक्षीय श्रम सम्बन्धलाई असर नपर्ने गरी आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ थियो । जवाफमा राजदूत मिन्खरले नेपाल सरकारको चासो र आग्रहलाई साउदी सरकारसमक्ष पु¥याइने बताउँदै आवश्यक परामर्शपछि यस विषयमा थप जानकारी उपलब्ध गराइने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्