नेभिगेशन
खेलकुद
साना टोलीहरूको सानदार प्रदर्शन

भाग्य कि रणनीतिको खेल ?

यो ४८ टोली सहभागी विश्वकपमा थुप्रै रोचक खेलहरू भइरहेका छन् । यहाँ कम वरीयताका टोलीहरूले विश्वका शीर्ष टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर सबैलाई अचम्ममा पारेका छन् । केप भर्ड (६४औं), कुरासाओ (८१औं), घाना (६५औं) र दक्षिण अफ्रिका (५४औं) जस्ता टोलीहरूले क्रमशः स्पेन (तेस्रो), इक्वेडर (२९औं), इङ्ल्यान्ड (चौथो) र दक्षिण कोरिया (२८औं) जस्ता बलिया देशहरूबाट अंक खोस्न सफल भए । आखिर यी सुरुवाती आश्चर्यहरू भाग्यको खेल मात्र हुन् कि कुनै चतुर योजना र त्यसको सही कार्यान्वयन ? खेलहरूलाई गहिरिएर हेर्दा यसका पछाडि केही साझा रणनीतिक ढाँचाहरू प्रस्ट देखिन्छन् ।
प्रलोभनमा नपर्नु
स्पेनविरुद्ध केप भर्डले बनाएको ०–० को बराबरी सायद यो प्रतियोगिताकै सबैभन्दा ठूलो र रणनीतिक रूपमा उत्कृष्ट नतिजा थियो । विश्वकप इतिहासकै तेस्रो सानो यस राष्ट्रले ४–५–१ को रक्षात्मक संरचना (डिफेन्सिभ सेप) बनाएर स्पेनलाई रोकिदियो । उनीहरूको सफलताको मुख्य कडी मिडफिल्ड र डिफेन्स लाइनबीचको दूरी निकै कम राख्नु थियो ।
यस्तो अवस्थामा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्ने बलिया टोलीहरूले विपक्षीलाई अगाडि तान्न र आफ्नो रक्षापंक्ति छाड्न बाध्य पार्नका लागि बल पछाडि पास गर्ने गर्छन् । स्पेनले पनि मिडफिल्डरहरू अघि बढून् र डिफेन्डरहरूबीच खाली ठाउँ बनोस् भन्ने आसमा बल पछाडि पास गरिरह्यो । तर, केप भर्डका खेलाडीहरू त्यो प्रलोभनमा परेनन् र आफ्नो बलियो रक्षात्मक संरचना कायमै राखे ।
यसको परिणामस्वरुप स्पेनलाई विपक्षीको रक्षात्मक घेराभित्र छिर्न निकै गाह्रो भयो । यही रणनीति इङ्ल्यान्डविरुद्ध घानाको रक्षापंक्तिमा पनि देखियो । थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डले विपक्षीलाई दबाब दिन आकर्षित गर्ने र त्यसपछि खाली ठाउँमा तीव्र आक्रमण गर्ने रणनीति बनाएको थियो । तर घानाले आफ्नो पेनाल्टी क्षेत्र बाहिर दुईवटा कडा लाइन बनाएर इङ्ल्यान्डलाई कुनै ठाउँ नै दिएन ।
यी साना टोलीहरू कति रक्षात्मक थिए भन्ने कुरा बल खोस्ने आक्रामक शैली (प्रेसिङ) मापन गर्ने तथ्यांक ‘पीपीडीए’ले पनि देखाउँछ । केप भर्ड र स्पेनको खेलमा केप भर्डको पीपीडीए ५१.२ थियो भने स्पेनको मात्र ५.९ थियो । घानाको खेलको सुरुवाती १५ मिनेटमा यो संख्या ६२ थियो । यसले साना टोलीहरू जानीजानी शान्त र रक्षात्मक बसेको प्रमाणित गर्छ ।
मैदानको चौडाइलाई सदुपयोग गर्नु
कुनै टोली कसरी सफल भए भन्ने बुझ्नका लागि अन्य टोलीहरू कहाँ चुके भन्ने कुरा बुझ्न जरुरी हुन्छ । साउदी अरेबियाले स्पेनसँग हार्दा रक्षात्मक खेल्ने टोलीहरूको एउटा ठूलो कमजोरी उजागर भयो । पाँचजना डिफेन्डर राख्दैमा रक्षापंक्ति बलियो हुन्छ भन्ने सोच्नु गलत साबित भयो, किनकि साउदीका खेलाडीहरू बल भएको ठाउँतिर मात्र बढी आकर्षित भए ।
उनीहरूका चार मिडफिल्डर मैदानको चौडाइअनुसार फैलिनुको साटो बल भएकै तर्फ झुत्तिए । यो कमजोरी थाहा पाएर स्पेनले बललाई तुरुन्तै देब्रेबाट दाहिनेतर्फ पास गर्यो, जहाँ लामिन यमाल र पेद्रो पोरोले साउदीका विङ–ब्याकलाई एक्लो पारेर सजिलै गोल निकाल्न सफल भए । स्विडेनले पनि नेदरल्याण्ड्सविरुद्ध ५–३–२ को संरचनामा खेल्दा यही गल्ती दोहोर्यायो र ५–१ को ठूलो हार बेहोर्नुप¥यो ।
दबाब झेल्ने र लामो पास खेल्ने कला
बलिया टोलीहरूविरुद्ध नतिजा निकाल्न आफ्नै आक्रमणको रणनीति हुनु पनि उत्तिकै आवश्यक छ । दक्षिण कोरियाविरुद्धको खेलमा दक्षिण अफ्रिकासँग मात्र ३१ प्रतिशत समय बल भए पनि उनीहरूले कोरियाको ७ प्रहारको विरुद्ध १४ पटक गोलको प्रयास गरे । गोलकिपरबाट सिधै लामो बल प्रहार गर्नुको साटो उनीहरूले छोटो पास खेलेर विपक्षीलाई आफूतिर आकर्षित गरे र खाली ठाउँमा रहेका आफ्ना खेलाडीलाई लामो चिप पास दिए ।
खेलाडीहरूलाई मैदानमा टाढा–टाढा राख्दा विपक्षी डिफेन्डरहरूले उनीहरूलाई रोक्न लामो दूरी दौडिनुपर्ने हुन्थ्यो, जसले गर्दा साना टोलीले सोच्ने र पास निकाल्ने समय पाए । यस्तो जोखिमपूर्ण खेलका कारण दक्षिण अफ्रिका र इराकले केही गोलहरू खाए पनि उनीहरूले उत्कृष्ट अवसरहरू पनि सिर्जना गरे ।
उत्कृष्ट व्यक्तिगत प्रदर्शन
यी उदाहरणहरूले फुटबलमा वरीयता जस्तोसुकै भए पनि टोलीहरूको रणनीतिक गुणस्तर बढ्दै गएको देखाउँछन् । कम चर्चित खेलाडीहरू भए पनि यदि टोली सही योजनाका साथ एकढिक्का भएर मैदान उत्रियो भने ठूला टोलीलाई कडा चुनौती दिन सक्छन् ।
यसका साथै, साना टोलीलाई खेलमा थोरै भाग्यको साथ र खेलाडीको व्यक्तिगत जादु पनि चाहिन्छ । यो प्रतियोगितामा स्पेनविरुद्ध उत्कृष्ट बचाउ गर्दै ४० वर्षका गोलकिपर वोजिन्हाले सबैको मन जिते । त्यस्तै, कुरासाओका गोलकिपर इलोय रुमले एकै खेलमा १५ पटक उत्कृष्ट बचाउ गर्दै विश्वकपको कीर्तिमान बराबरी गरे र आफ्नो देशलाई पहिलो अंक दिलाए । रणनीतिले साना राष्ट्रहरूलाई बलिया टोलीसँगको दूरी कम गर्न मद्दत त गर्छ नै, तर विश्वकपको यो भव्य मञ्चले खेलाडीहरू भित्र लुकेको त्यो असाधारण क्षमतालाई पनि बाहिर ल्याइदिन्छ, जुन सायद उनीहरू स्वयंलाई पनि थाहा हुँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद