नेभिगेशन
खेलकुद

इरान दुर्भाग्यको शिकार

इरानका प्रशिक्षक अमिर घालेनोईले इजिप्टसँग १–१ को बराबरीपछि आफ्नो टोली दुर्भाग्यको सिकार बनेको बताएका छन् । इन्जुरी समयमा इरानले गरेको निर्णायक गोल अत्यन्तै झिनो अफसाइडका कारण भीएआरमार्फत रद्द भयो भने अर्को हेडर क्रसबारमा लाग्दा टोली अन्तिम १६ मा सीधा पुग्ने अवसरबाट वञ्चित भयो ।
इरानले जिते समूह ‘जी’को उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउने थियो । तर गोल रद्द भएपछि इजिप्ट इतिहासमै पहिलोपटक समूह चरण पार गर्दै अन्तिम ३२ मा पुग्यो । इरानको भविष्य अब तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूको नतिजामा निर्भर रहनेछ ।
घालेनोईले प्रविधिमा आधारित निर्णय स्वीकार गरे पनि “केही मिलिमिटरका कारण गोल रद्द हुनु ठूलो दुर्भाग्य” भएको बताए । उनले युद्धका कारण टोलीले प्रतियोगिताभर धेरै कठिनाइ भोगेको पनि गुनासो गरे ।
इरानको आधार शिविर अमेरिकाबाट सारेर मेक्सिकोमा राखिएको थियो । टोलीले हरेक खेलका लागि अमेरिकामा एक दिनअघि मात्र प्रवेश गरेर खेलपछि तुरुन्तै मेक्सिको फर्किनुपरेको थियो । यस्तो यात्राले खेलाडीहरूको शारीरिक पुनःस्थापनामा असर परेको घालेनोईको भनाइ छ । उनले केही टोली सदस्यले भिसा पनि नपाएको बताए ।
घालेनोईले आयोजक राष्ट्रले इरानप्रति राम्रो व्यवहार नगरेको आरोप लगाउँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन फिफा र अध्यक्ष गियानी इन्फान्टिनोले कडा भूमिका खेल्नुपर्ने माग गरे । युद्ध र कठिन परिस्थितिका बाबजुद इरानका खेलाडीले गरेको प्रदर्शन इतिहासमा स्मरणीय रहने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद