नेभिगेशन
खेलकुद

सखुबनी खेल मैदान शिलान्यास

सर्लाही । सखुबनी खेल मैदान निर्माणको काम अघि बढेको छ । ईश्वरपुर–५ सखुबनीमा स्थानीय सखुबनी युवा क्लबले यसको पहल गरेको हो । खेल मैदान निर्माणको ईश्वरपुर नगरप्रमुख मनोजकुमार आचार्यले शिलान्यास गरेका छन् । 
स्थानीय विकासलाई गति दिन खेलकुद क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको उनले बताए । ‘खेलकुदले युवा पुस्तालाई अनुशासित, स्वस्थ , सिर्जनशील बनाउने भएकाले स्थानीय सरकार खेल पूर्वाधार विकासमा केन्द्रित छ,’ उनले भने । क्लब अध्यक्ष उमेश आलेका अनुसार व्यवस्थित खेल मैदानले जिल्लामा खेल गतिविधि अगाडि बढाउन मद्दत हुने भएकाले योजना अघि बढाइएको हो । विनियोजित बजेटबाट यो वर्ष पर्खालसहितको घेराबारा निर्माण, खेलमैदान सम्याउनेलगायतका काम हुने जानकारी उनले दिए । ‘मैदान तयार भएपछि हाम्रो योजनाअनुसार जिल्लालाई फुटबल खेलको हब बनाउन आधार तयार हुनेछ,’ उनले भने । 
नगरपालिकाले खेल क्षेत्रप्रति देखाएको चासोमा उनले आभार व्यक्त गरे । ‘मैदान तयार हुनेबित्तिकै हामी एउटा टुनामेन्ट गरिहाल्छौं,’ उनले भने । मैदान स्तरोन्नतिको ठेक्का रोशन इन्जिनियरिङ एण्ड बिल्डर्स प्रालिले २५ लाख ६१ हजार ४५१ रुपैयाँमा लिएको छ । आगामी मंसिर २५ भित्र काम पुरा हुनेगरी नगरपालिकासँग सम्झौता गरेर निर्माण कार्य अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद