नेभिगेशन
अर्थतन्त्र

२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज हुँदै

काठमाडौं । वैदेशिक रोजगार विभागले करिब २५ वर्षदेखि अलपत्र अवस्थामा रहेका वैदेशिक रोजगार ठगीसम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी, व्यवस्थित अभिलेखीकरण र डिजिटलाइज गर्ने कार्यलाई तीव्रता दिएको छ । विभागले पुराना फाइल व्यवस्थापनसँगै मुद्दा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्दै विभागलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएपछि विभागले महानिर्देशक मिरा आचार्यको नेतृत्वमा पुराना फाइल व्यवस्थापन अभियान अघि बढाएको हो । विभागका अनुसार अभिलेख व्यवस्थापनका क्रममा वि.सं. २०५७ सालदेखिका मुद्दा तथा अनुसन्धानसम्बन्धी महत्त्वपूर्ण फाइलहरू फेला परेका छन् । लामो समयदेखि डम्प अवस्थामा रहेका हजारौं फाइल खोजी गरी सालअनुसार वर्गीकरण गर्दै भौतिक अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ । यससँगै ती फाइलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको विभागले जनाएको छ । आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारीसमेत गरिएको छ । वि.सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन लागू भएपछि श्रम प्रशासनमार्फत वैदेशिक रोजगारसम्बन्धी काम सुरु भएको थियो । त्यसपछि वि.सं. २०५६ सालमा श्रम तथा रोजगार प्रवद्र्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकका गुनासा दर्ता हुन थालेका थिए । वि.सं. २०६४ सालमा वैदेशिक रोजगार विभाग गठन भएपछि मुद्दा तथा अनुसन्धानसम्बन्धी सम्पूर्ण कार्य विभागमार्फत सञ्चालन हुँदै आएको छ । विभागले वि.सं. २०५७ सालयताका उपलब्ध सबै मुद्दा तथा अनुसन्धान फाइलको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरी न्याय सम्पादन प्रक्रियासँग आबद्ध गर्ने तयारी गरेको जनाएको छ । यसबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगी पीडितले छिटो, पारदर्शी र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्