नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स सदाबहार योजनामा डिजिटल माध्यमबाटै आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत नै ‘सिटिजन्स सदाबहार योजना’ (एसआईपी) मा आवेदन दिने सुविधा उपलब्ध गराएको छ । बैंकले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार सर्वसाधारणमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सिटिजन्स सदाबहार योजना’मा अब ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् । सिटिजन्स क्यापिटल लिमिटेड बैंकको सहायक कम्पनी हो । यस सेवाअन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङमार्फत उपलब्ध ‘डिजी बैंक’ सेवाको प्रयोग गरी प्रत्यक्ष रूपमा एसआईपी आवेदन दिन सक्नेछन् । बैंकका अनुसार यसले आवेदन प्रक्रियालाई थप सरल, छिटो र सुरक्षित बनाउनेछ । साथै, ग्राहकहरूले आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ । डिजिटल बैंकिङ सेवालाई विस्तार गर्दै आएको सिटिजन्स बैंकले पछिल्ला वर्षहरूमा विभिन्न नवीन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यस्तै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेनजी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याइसकेको छ । बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सी–आर–एन नम्बर सेवा उपलब्ध गराउनुका साथै क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको जनाएको छ । यस सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ३७ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्