नेभिगेशन
अर्थतन्त्र

नाडाले सप्ताहव्यापी स्वर्ण उत्सव मनाउँदै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो स्थापना कालको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण उत्सव समारोह मनाइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित समारोहमा नाडाले आफ्नो पाँच दशकको यात्रा स्मरण गर्दै शनिबारबाट सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित व्यवसायी, नाडाका पूर्वअध्यक्ष, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, सदस्य कम्पनीका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो । स्वर्ण उत्सवलाई विशेष बनाउने उद्देश्यले दशरथ रंगशाला, त्रिपुरेश्वरदेखि होटल याक एण्ड यतिसम्म ‘वाकाथन’ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अटोमोबाइल क्षेत्रका व्यवसायी, नाडाका पदाधिकारी, पूर्वअध्यक्ष तथा सदस्य कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । समारोहका अवसरमा नाडाले संस्थाको नेतृत्व सम्हालिसकेका पूर्वअध्यक्षहरूलाई विशेष सम्मानसमेत गरेको छ । नाडाका अनुसार स्वर्ण उत्सवका कार्यक्रम असार १३ गतेदेखि १९ गतेसम्म राजधानीसहित सातवटै प्रदेशमा विभिन्न कार्यक्रममार्फत सञ्चालन हुनेछन् । वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडको पहलमा काठमाडौंमा स्थापना भएको नाडाले पाँच दशकको अवधिमा २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ  । हालसम्म २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन् । संस्थाले वार्षिक प्रकाशनका रूपमा ३६औं संस्करणको ‘नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री’, ५१औं संस्करणको ‘नाडा अटो न्यूज’ तथा १८औं संस्करणको ‘नाडा अटो ड्राइभ क्यालेन्डर’ प्रकाशित गरिसकेको जनाएको छ । साथै, आगामी भदौमा १८औं संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्ने तयारी भइरहेको पनि जानकारी दिइएको छ । नाडा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका वस्तुगत संघमध्ये उत्कृष्ट संघका रूपमा पटक–पटक सम्मानित हुँदै आएको संस्था हो । सन् २०१५ देखि यसले अन्तर्राष्ट्रिय मोटर व्यापारसम्बन्धी संगठनको नेपाल प्रतिनिधिका रूपमा समेत भूमिका निर्वाह गर्दै आएको जनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्नुका साथै राष्ट्रिय विपत्तिका समयमा सहयोगी भूमिका खेल्दै आएको पनि उल्लेख गरेको छ । स्वर्ण उत्सव समारोहको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव मिलनबाबु मल्लले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्