नेभिगेशन
अर्थतन्त्र

गेमिफाइड बुटक्याम्पबाट युवालाई एआईदेखि वित्तीय साक्षरतासम्मको सीप विकास

काठमाडौं । ग्लोकलद्वारा प्रस्तुत तथा इम्बार्क कलेजद्वारा सञ्चालित ‘एनसेल ट्वेल्थ पास द ग्लिच’को पहिलो ब्याच सम्पन्न भएको छ । तीनदिने गेमिफाइड बुटक्याम्पमार्फत कक्षा १२ उत्तीर्ण गरेका ५० जना विद्यार्थीलाई भविष्यका लागि आवश्यक व्यावहारिक सीप, डिजिटल क्षमता तथा करियर विकाससम्बन्धी ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई ‘फ्लाइट प्लान’ अवधारणामा आधारित बनाइएको थियो । जसअन्तर्गत सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), व्यक्तिगत ब्रान्डिङ, कन्टेन्ट क्रिएसन, वित्तीय साक्षरता, सञ्चार, सार्वजनिक प्रस्तुति र करियर योजनासम्बन्धी तालिम तथा अभ्यास गरेका थिए । पहिलो दिन सहभागीहरूले एनसेलको सिमकार्ड र डेटा प्याक प्राप्त गरेपछि एआई नीति अनुसन्धानकर्ता तथा प्रशिक्षक चन्दन गुप्ताको सहजीकरणमा आर्टिफिसियल इन्टेलिजेन्स, प्रम्प्ट इन्जिनियरिङ तथा डिजिटल पहिचान निर्माणबारे प्रशिक्षण लिएका थिए । सो क्रममा उनीहरूले एआईको प्रयोग गरी आफ्ना व्यावसायिक डिजिटल अवतार तथा व्यक्तिगत प्रोफाइल तयार गरेका थिए । दोस्रो दिन डिजाइन थिंकिङ, कन्टेन्ट क्रिएसन र भिजुअल ब्रान्डिङमा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको थियो । नीरज न्यौपानेको सहजीकरणमा सहभागीहरूले टोली बनाएर एआई उपकरण तथा क्यापकटको प्रयोग गर्दै डिजिटल सामग्री तयार गरेका थिए । उनीहरूले तयार पारेका सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्दै व्यक्तिगत ब्रान्डिङ र डिजिटल स्टोरीटेलिङ सीपसमेत विकास गरेका थिए । अन्तिम दिन वित्तीय साक्षरता, बजेट व्यवस्थापन, सार्वजनिक वक्तृत्वकला तथा करियर योजनामा आधारित अन्तरक्रियात्मक गतिविधि सञ्चालन गरिएको थियो । ओजस्वी श्रेष्ठ र ग्लोकल टोलीको सहजीकरणमा सहभागीहरूले ‘काठमाडौं सर्भाइभर एण्ड प्लान ट्रिप टु बाली’ शीर्षकको रोल–प्लेइङ अभ्यासमा सहभागिता जनाएका थिए । साथै, एनसेल एपमार्फत सञ्चालन गरिएको ट्रेजर हन्ट खेलमार्फत बजेट व्यवस्थापन, डिजिटल ठगीको पहिचान तथा समस्या समाधानका व्यावहारिक अभ्यास गराइएको थियो । कार्यक्रमको समापनमा सहभागीहरूलाई ‘स्किल भिसा ग्रान्टेड’ छापसहितको ‘स्किल पासपोर्ट’ प्रदान गरिएको थियो । तीनदिने बुटक्याम्पमार्फत सहभागीहरूले आत्मविश्वास, व्यक्तिगत ब्रान्डिङ, एआई प्रयोग, डिजाइन थिंकिङ, कन्टेन्ट सिर्जना, वित्तीय साक्षरता, बजेटिङ तथा सार्वजनिक प्रस्तुति जस्ता सीप विकास गर्ने अवसर पाएका आयोजकले जनाएको छ । कार्यक्रमको अन्तिम दिन करियर मार्गदर्शन सत्रसँगै ‘ग्लोकल टिन हिरो साउथ एसिया २०२६’ बारे जानकारी दिँदै युवाहरूलाई नेतृत्व विकास र सामाजिक प्रभाव सिर्जना गर्ने अभियानमा सहभागी हुन प्रेरित गरिएको थियो । आयोजकका अनुसार परम्परागत कक्षाकोठाभन्दा बाहिर सिर्जनात्मक, सहकार्यात्मक र प्रयोगात्मक सिकाइलाई प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । ग्लोकलले पहिलो संस्करण सफल बनाउन सहयोग गर्ने सहभागी, प्रशिक्षक, सहजीकर्ता, मेन्टर, स्वयंसेवक तथा साझेदारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि युवालाई लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्