नेभिगेशन
अर्थतन्त्र

बजेट १२ वर्षयताकै अनुशासित र सानो भएकाले कार्यान्वयनमा शंका नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले अहिलेको घोषित बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा २८ दशमलव ५ प्रतिशत मात्रै भएको बताए । जुन पछिल्लो १२ वर्षमा भन्दा सानो बजेट भएको उनले बताए ।

उनले बजेट कार्यान्वयनका विषयमा कुनै आशंका नगर्न आग्रह समेत गरे । मन्त्री वाग्लेले बजेटका लागि विभिन्न मन्त्रालयमा फाइल घुमाउनुपर्ने अवस्थाको अन्त्य गर्दै रकमान्तरदेखि धेरै कुराहरूमा अर्थ मन्त्रालयको तजबिज अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिइएको स्पष्ट पारे ।

त्यस्तै उनले बजेटमा आम नागरिकको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युत्मा केही मात्रामा कर लगाइएको स्पष्ट पारे। सरकारले महत्त्वाकाङ्क्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट ल्याएको उनको भनाइ छ ।

बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार १७ गते बोलाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्