नेभिगेशन
अर्थतन्त्र

घुम्ती प्रयोगशालासहित उपत्यकामा बजार अनुगमन, अखाद्य ‘रोज वाटर’ नष्ट

काठमाडौं । सरकारले खाद्य सुरक्षा, खाद्य गुणस्तर र उपभोक्ता स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्दै काठमाडौं उपत्यकामा बजार अनुगमनलाई तीव्र बनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरी बजार अनुगमन तथा निरीक्षण गरेको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागल उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा खाद्य प्रयोजनका लागि राखिएको ‘कस्मेटिक ग्रेड’को ‘रोज वाटर’ फेला परेको थियो। । मानव उपभोगका लागि उपयुक्त नभएको उक्त सामग्री तत्काल नष्ट गरिएको विभागले जनाएको छ । विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । उपभोक्ताको स्वास्थ्यमा असर पार्ने सामग्री बिक्री तथा भण्डारण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ । अनुगमनको अर्को टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारबाट विभिन्न प्रकारका फलफूल तथा तरकारीका नमुना संकलन गरी घुम्ती प्रयोगशालामार्फत विषादी अवशेष परीक्षण गरेको थियो। परीक्षण गरिएका २२ प्रकारका ताजा फलफूल तथा तरकारीको नमुना खाद्य मापदण्डअनुकूल रहेको विभागले जानकारी दिएको छ । त्यस्तै, टोलीले भक्तपुरस्थित दुई डेरी उद्योगको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा उत्पादन प्रक्रिया, सरसफाइ तथा गुणस्तर व्यवस्थापनमा आवश्यक सुधार गर्न उद्योगहरूलाई निर्देशन दिइएको विभागले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्