नेभिगेशन
अर्थतन्त्र

कालो सिसा हटाउने विषयमा नाडा र ट्राफिक प्रहरीबीच छलफल

काठमाडौं । सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने विषयमा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार छलफल भएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने प्रक्रिया, कानुनी व्यवस्था तथा कार्यान्वयनका विषयमा विस्तृत छलफल गरेको हो । छलफलमा एसएसपी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अत्यधिक कालो सिसा भएका सवारी साधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने गरेको देखिएकाले प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम त्यस्ता सिसा हटाउने अभियान अघि बढाइएको जानकारी दिए । उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सवारी आयातकर्ता तथा बिक्रेताले पनि सवारी खरिदकर्तालाई यसबारे स्पष्ट जानकारी गराउनुपर्ने बताए । कालो सिसा प्रयोग गर्न चाहने सवारीधनीले सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था रहेको भन्दै उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएका सवारी साधन आयात नगर्न पनि उनले आयातकर्तालाई आग्रह गरे । नाडाका अध्यक्ष उप्रेतीले हाल अधिकांश सवारी साधनमा प्रयोग भइरहेको कालो स्टिकर (फिल्म) हटाउन प्राविधिक रूपमा जटिलता नरहेको उल्लेख गर्दै पहिलो चरणमा कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्नु उपयुक्त हुने सुझाव दिए । त्यसैगरी, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनको संख्या धेरै नरहेको उल्लेख गर्दै त्यस्ता सवारी साधनको यकिन विवरण तयार गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने धारणा राखे । कालो सिसा हटाउने विषयमा समन्वय र आवश्यक छलफलका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नाडालाई लिखित रूपमा आग्रह गरेको थियो । छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायत दुवै पक्षका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्