नेभिगेशन
अर्थतन्त्र

प्राइम बैंकको एकल लगानीमा अरुण खोला–२ जलविद्युत आयोजना निर्माण हुने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत आयोजनामा एकल ऋण लगानी गर्ने भएको छ । हिमालयन इञ्जिनियरिङ एन्ड इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाका लागि बैंक र कम्पनीबीच कर्जा सम्झौता भएको हो । सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र हिमालयन इञ्जिनियरिङ एन्ड इनर्जीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसाद भट्टराईले हस्ताक्षर गरे । सम्झौताअनुसार आयोजनाको कुल अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ रहेकोमा कूल लागतमध्ये बैंकले ६१.६६ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ ऋण लगानी गर्नेछ । बाँकी ३८.३४ प्रतिशत रकम प्रवद्र्धक कम्पनीले स्वपुँजी स्वरुप जुटाइने भएको छ । अरुण खोला–२ जलविद्युत आयोजनाबाट सुख्खा याममा ४.८६४ गिगावाट घन्टा र वर्षायाममा ८.३१९ गिगावाट घन्टा गरी वार्षिक कुल १३.१८ गिगावाट घन्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ । आयोजना निर्माण कार्य काम सुरु भएको १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विद्युत उत्पादन विस्तार तथा जलविद्युत क्षेत्रमा निजी लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित बैंकले आयोजनामा लगानी गरेको जनाएको छ । प्राइम कमर्सियल बैंकको लगानीले आयोजना निर्माण प्रक्रियालाई गति दिन सहयोग पुग्ने र निर्धारित समयभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्यलाई बल पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्