नेभिगेशन
खेलकुद

असफलतापछि कोरियाली प्रशिक्षकको राजीनामा

विश्वकपमा दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक होङ म्युङ–बोले आइतबार राजीनामा दिएका छन् । टोलीको निराशाजनक प्रदर्शनपछि राष्ट्रपति ली जे म्युङले उनलाई ‘अक्षम’ भन्दै कडा आलोचना गरेका थिए ।
दक्षिण कोरियाले समूह ‘ए’को पहिलो खेलमा चेक गणतन्त्रलाई हराएको थियो । तर त्यसपछि दक्षिण अफ्रिका र मेक्सिकोसँग लगातार पराजित भयो । विस्तारित विश्वकपमा तेस्रो स्थानमा रहने केही टोलीले पनि नकआउट चरणमा स्थान बनाउने व्यवस्था भए पनि कंगोले उज्बेकिस्तानलाई ३–१ ले हराएपछि दक्षिण कोरियाको सम्भावना समाप्त भयो ।
अर्को चरणमा पुग्ने अपेक्षा गरिएको टोली प्रारम्भिक चरणमै बाहिरिएपछि राष्ट्रपति लीले राष्ट्रिय टोलीको संरचना, व्यवस्थापन र प्रशिक्षक नियुक्ति प्रक्रियामाथि प्रश्न उठाए । उनले क्षमता भन्दा गुटबन्दी र निष्ठालाई प्राथमिकता दिएर नेतृत्व चयन गर्दा यस्तो नतिजा आएको टिप्पणी गरे ।
५७ वर्षीय होङले मेक्सिकोस्थित टोलीको शिविरमै पत्रकार सम्मेलन गर्दै समर्थकसँग क्षमा मागे । उनले आफूले जनताको अपेक्षाअनुसार नतिजा दिन नसकेको स्वीकार गर्दै सम्पूर्ण जिम्मेवारी आफ्नै भएको बताए । पद छाडे पनि कोरियाली फुटबलप्रतिको आफ्नो समर्पण कायम रहने र राष्ट्रिय टोलीले फेरि जनताको विश्वास जितोस् भन्ने कामना गरे ।
यो होङको राष्ट्रिय टोलीसँगको दोस्रो कार्यकाल थियो । उनले यसअघि २०१४ को ब्राजिल विश्वकपमा पनि दक्षिण कोरियाको नेतृत्व गरेका थिए, जहाँ टोली समूह चरणबाटै बाहिरिएको थियो ।
लगातार ११ विश्वकपमा खेल्दै आएको दक्षिण कोरिया सन् २००२ मा जापानसँग संयुक्त रूपमा विश्वकप आयोजना गर्दा सेमिफाइनलसम्म पुगेको थियो । यसपटकको असफलतापछि राष्ट्रपति लीले राष्ट्रिय टोलीको सम्पूर्ण कार्यक्रम र खेल प्रशासनको समीक्षा गरी आवश्यक सुधार गर्न संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्