नेभिगेशन
खेलकुद

बेल्जियमको युवा शक्ति चम्कियो

सह–आयोजक राष्ट्र अमेरिकाको विश्वकप यात्रा अन्ततः अन्तिम–१६ मै टुंगिएको छ । बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकालाई ४–१ ले पराजित गरेपछि अमेरिका प्रतियोगिताबाट बाहिरिने तेस्रो तथा अन्तिम सह–आयोजक राष्ट्र बनेको हो । अब बेल्जियमले क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको सुरुवातदेखि नै बेल्जियमले नियन्त्रण कायम राख्यो । नवौं मिनेटमा निकोलस रास्किनको उत्कृष्ट पासलाई चाल्र्स डे केटेलाएरले सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । ३१औँ मिनेटमा मालिक टिलम्यानको फ्रिकिक हान्स भानाकेनमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि अमेरिका खेलमा फर्किएको देखियो । तर त्यो खुशी लामो समय टिकेन । त्यसको दुई मिनेटपछि लेआन्ड्रो ट्रोसार्डको क्रसमा डे केटेलाएरले हेडमार्फत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफमा अमेरिकी गोलरक्षक म्याट फ्रिजको हिच्किचाहट महँगो सावित भयो । डे केटेलाएरको दबाबपछि प्राप्त अवसरलाई हान्स भानाकेनले सदुपयोग गर्दै तेस्रो गोल गरे । इन्जुरी समयमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले चौथो गोल थप्दै अमेरिकाको पुनरागमनको सम्भावनालाई पूर्ण रूपमा समाप्त गरिदिए ।
यस खेलको सबैभन्दा चर्चित विषय मैदान बाहिरको निर्णय पनि रह्यो । अमेरिकी स्ट्राइकर फोलारिन बालोगुन अघिल्लो खेलमा रातो कार्ड पाएपछि एक खेलका लागि निलम्बित हुने निश्चितजस्तै थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफासँग प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले उनको स्वतः लाग्ने एक खेलको प्रतिबन्ध १२ महिनाका लागि स्थगित गरिदियो । यस निर्णयले विश्व फुटबलमा निष्पक्षतामाथि प्रश्न उठाएको थियो । यद्यपि मैदानमा बालोगुनले कुनै प्रभाव पार्न सकेनन् । उनले सिर्जना गरेको एकमात्र राम्रो अवसर पनि बेल्जियमका अनुभवी गोलरक्षक थिबो कोर्टुवाले उत्कृष्ट बचाउ गर्दै विफल पारे ।
बेल्जियमका प्रशिक्षक रुडी गार्सियाको रणनीति भने पूर्ण रूपमा सफल देखियो । उनले अनुभवी रोमेलु लुकाकुभन्दा २५ वर्षीय डे केटेलाएरलाई सुरुआती रोजाइमा राखे, जसले दुई गोल गर्दै विश्वासको उचित प्रतिफल दिए । अनुभवी केभिन डे ब्रुइनलाई पनि बेन्चमै राखेर युवा खेलाडीलाई अवसर दिने निर्णयले बेल्जियमको नयाँ पुस्ता परिपक्व बन्दै गएको संकेत गरेको छ । यद्यपि अन्तिम समयमा मैदान प्रवेश गरेका लुकाकुले गोल गर्दै विश्वकपमा वैकल्पिक खेलाडीका रूपमा एउटै संस्करणमा तीन गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमानसमेत बनाए ।
अमेरिकाका लागि यो हार प्रतियोगिताबाट बाहिरिनु मात्र नभई ठूलो अवसर गुमाउनु पनि हो । घरेलु समर्थक, राजनीतिक समर्थन र अनुकूल वातावरण हुँदाहुँदै टोली दबाब थेग्न असफल भयो । पछिल्ला पाँच विश्वकपमध्ये चारपटक अन्तिम–१६ बाटै बाहिरिनु अमेरिकी पुरुष फुटबल अझै विश्व फुटबलका स्थापित शक्तिसँगको दूरी घटाउन संघर्षरत रहेको संकेत हो । अर्कोतर्फ बेल्जियमले युवा र अनुभवी खेलाडीबीच सन्तुलन मिलाउँदै उपाधि दाबेदारीलाई थप बलियो बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्