नेभिगेशन
खेलकुद

रोनाल्डोको सपना अधूरै

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा टुंगिएको छ । डलासमा भएको अन्तिम–१६ को खेलमा स्पेनसँग १–० ले पराजित भएपछि ४१ वर्षीय रोनाल्डो आँसुसहित मैदानबाट बाहिरिए । अतिरिक्त समयको अन्तिमतिर मिकेल मेरिनोले गरेको गोलले स्पेनलाई क्वार्टरफाइनलमा पु¥यायो ।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले क्लब र राष्ट्रका लागि ९७६ गोल गरेका छन् भने लगातार छ वटा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी बने । तर सन् २००६ मा सेमिफाइनल पुगेको बाहेक उनले विश्वकप उपाधि जित्न सकेनन् । यसअघि नै उनले यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए ।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले खेलपछि पदबाट राजीनामा दिँदै रोनाल्डोको योगदानको प्रशंसा गरे । उनले रोनाल्डोले विश्वकप जित्ने सपना पूरा गर्न सबै प्रयास गरेको बताए । यद्यपि बीबीसीका विश्लेषक क्रिस सटनले भने मार्टिनेजले रोनाल्डोलाई हरेक खेलमा अनिवार्य रूपमा मैदान उतारेर टोलीको सन्तुलन बिगारेको आरोप लगाए । उनका अनुसार युवा फरवार्ड गोन्कालो रामोसलाई अवसर नदिनु ठूलो रणनीतिक कमजोरी थियो । यस विश्वकपमा रोनाल्डोले तीन गोल गरे पनि समग्र प्रदर्शन प्रभावशाली बन्न सकेन । पाँच खेलमा उनले केवल एक अवसर मात्र सिर्जना गरे भने १८ प्रहार गरेका थिए ।
यससँगै रोनाल्डो र लियोनेल मेस्सीबीचको लामो प्रतिस्पर्धामा अर्को महत्वपूर्ण अन्तर पनि देखिएको छ । मेस्सीले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए भने रोनाल्डोको करिअर भने विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिविनै समाप्त भएको छ । यद्यपि छ विश्वकपमा गोल गर्ने तथा पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १४६ गोल गर्ने कीर्तिमान भने रोनाल्डोकै नाममा कायम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्