विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ । खेलको ७९औँ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम १३ मिनेटमा लगातार तीन गोल गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । यस जितसँगै कप्तान लियोनेल मेस्सी गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थानमा उक्लिएका छन् ।
खेलको सुरुआतबाटै इजिप्टले अनुशासित र आक्रामक प्रदर्शन ग¥यो । १५औँ मिनेटमा यासेर इब्राहिमले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि अर्जेन्टिनाले बराबरीको अवसर सिर्जना गरे पनि १९औँ मिनेटमा मेस्सीको पेनाल्टी इजिप्टका गोलरक्षक मोस्तफा शोबेरले उत्कृष्ट बचाउ गरे । पहिलो हाफभर अर्जेन्टिनाले बलमा नियन्त्रण राखे पनि इजिप्टको सुदृढ रक्षापंक्तिलाई तोड्न सकेन ।
दोस्रो हाफमा पनि अर्जेन्टिनाले निरन्तर दबाब बनाइरहँदा ६७औँ मिनेटमा मुस्तफा जिकोले हैसेम हसनको पासमा गोल गर्दै इजिप्टलाई २–० को बलियो अग्रता दिलाए । त्यसपछि धेरैले इजिप्टले ऐतिहासिक जित निकाल्ने अनुमान गरेका थिए तर अर्जेन्टिनाले त्यसपछि खेलको स्वरूप नै बदलिदियो । ७९औँ मिनेटमा मेस्सीको उत्कृष्ट क्रसमा क्रिस्टियन रोमेरोले शक्तिशाली हेडमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसको चार मिनेटपछि मेस्सी स्वयं गोल गर्न सफल भए । गोन्जालो मोन्टिएलबाट आएको बललाई पहिलो टचमै प्रहार गरेका मेस्सीको प्रहार गोलरक्षक शोबेरले छोए पनि बल बारमा ठोक्किँदै जाली चुम्यो र खेल २–२ को बराबरीमा पुग्यो ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा इजिप्टले पेनाल्टीको माग गरिरहेको अवस्थामा अर्जेन्टिनाले तीव्र प्रतिआक्रमण गर्दै निर्णायक गोल ग¥यो । लाउटारो मार्टिनेजको क्रसमा एन्जो फर्नान्डेजले पछिल्लो पोस्टमा उत्कृष्ट हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए । यो खेलमा मेस्सीले एक गोल र एक असिस्ट गरे । उनले विश्वकपमा लगातार नौ खेलमा गोल गर्ने कीर्तिमानलाई अझै लम्ब्याएका छन् । सन् २०२२ को विश्वकपदेखि सुरु भएको यो शृंखलामा उनले नौ खेलमा १३ गोल गरिसकेका छन् । इजिप्टविरुद्धको गोल मेस्सीको विश्वकप करियरको २१औँ गोल पनि हो, जसले उनलाई सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका फ्रान्सका केलियन एमबाप्पेभन्दा दुई गोलले अगाडि पु¥याएको छ ।
यस गोलसँगै मेस्सीले यस विश्वकपमा आठ गोल पु¥याएका छन् र गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन् । खेलअघि उनी एमबाप्पे र नर्वेका एर्लिङ हालान्डसँग सात–सात गोलमा बराबरीमा थिए । एमबाप्पेले दुई असिस्टका कारण टाइब्रेकरमा अग्रता लिएका थिए भने इङ्ल्यान्डका ह्यारी केन पनि छ गोलसहित प्रतिस्पर्धामा छन् ।
दुई गोलले पछि परेको अवस्थामा अन्तिम समयमा शानदार पुनरागमन गर्दै जित निकालेपछि अर्जेन्टिनाले उपाधि रक्षा गर्ने आफ्नो अभियानलाई जीवित राखेको छ । कठिन परिस्थितिमा पनि टोलीलाई उद्धार गर्ने मेस्सीको क्षमता फेरि एकपटक निर्णायक सावित भएको छ ।