नेभिगेशन
खेलकुद

क्रोएसियाली प्रशिक्षकको राजीनामा

विश्वकप फुटबलबाट क्रोएसिया बाहिरिएलगत्तै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ज्लाट्को डालिचले पदबाट राजीनामा दिएका छन् । उनले लगातार दुई विश्वकपमा क्रोएसियालाई शीर्ष तीनभित्र पु¥याउँदै देशको फुटबल इतिहासकै सबैभन्दा सफल प्रशिक्षकमध्ये एकका रूपमा आफ्नो कार्यकाल टुंग्याएका हुन् ।
क्रोएसियाको फुटबल महासंघले बुधबार इन्स्टाग्राममार्फत सार्वजनिक गरेको वक्तव्यमा डालिचले भनेका छन्, “क्रोएसियाली फुटबल इतिहासका सबैभन्दा महान् सफलतामा मैले दिएको योगदानप्रति गर्व गर्दै सन्तुष्ट मनका साथ विदा हुँदैछु । मेरो उत्तराधिकारी, राष्ट्रिय टोली र क्रोएसियाली फुटबलले अझ धेरै सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
यो घोषणा विश्वकपको अन्तिम–३२ चरणमा क्रोएसिया पोर्चुगलसँग २–१ ले पराजित भएको एक साताभन्दा कम समयपछि आएको हो । डालिचले राष्ट्रिय टोलीको नेतृत्व गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान भएको उल्लेख गर्दै पछिल्ला दिनमा समर्थकबाट प्राप्त साथले निर्णय पुनर्विचार गर्न प्रेरित गरे पनि अब नयाँ अध्याय सुरु गर्ने समय आएको महसुस भएको बताए । उनले भने, “मैले सधैं राष्ट्रिय टोलीको नेतृत्वभन्दा ठूलो सम्मान अरू केही हुन सक्दैन भन्ने महसुस गरेको छु । अझै पनि नयाँ सफलता हासिल गर्ने इच्छा र महत्वाकांक्षा मभित्र छ । तर यो अविस्मरणीय यात्रालाई यहीँ टुंग्याउने सही समय आएको छ ।”
क्रोएसियाली फुटबल महासंघले डालिचको कार्यकाललाई “अविस्मरणीय यात्रा” भन्दै उनको बिदाइलाई “गौरवपूर्ण विदाइ”को संज्ञा दिएको छ । महासंघले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “झण्डै नौ वर्षपछि मुख्य प्रशिक्षक ज्लाट्को डालिचले क्रोएसियासँगको आफ्नो अत्यन्त सफल अध्याय समाप्त गर्ने निर्णय गर्नुभएको छ । जित, उपलब्धि, विश्वकप र अन्य प्रतियोगितामा छनोट, पदक, टोलीको एकता, सम्मान र मैदानभित्र तथा बाहिर क्रोएसियाका लागि देखाउनुभएको समर्पणका लागि धन्यवाद ।”
डालिचको नेतृत्वमा कप्तान लुका मोड्रिचसहितको क्रोएसियाको ‘स्वर्णिम पुस्ता’ले सन् २०१८ को विश्वकपमा उपविजेता, २०२२ को विश्वकपमा तेस्रो स्थान तथा २०२३ को नेसन्स लिगमा पनि उपविजेताको सफलता हासिल गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्