नेभिगेशन
खेलकुद

हालान्डलाई रोक्न तयार इंग्ल्यान्ड

इंग्ल्यान्डका डिफेन्डर ड्यान बर्नले विश्वकप क्वार्टरफाइनलमा नर्वेलाई हराउन आफ्नो टोलीले मेक्सिकोविरुद्धको खेलभन्दा अझ उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका छन् । उनले नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई रोक्ने चुनौती स्वीकार गर्न आफू पूर्ण रूपमा तयार रहेको पनि बताए ।
इंग्ल्यान्डले क्वार्टरफाइनलमा यस सप्ताहन्त मियामीमा नर्वेसँग प्रतिस्पर्धा गर्दैछ । नर्वे ब्राजिललाई २–१ ले पराजित गर्दै आत्मविश्वासका साथ अन्तिम आठमा पुगेको हो । उता, इङ्ग्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हराएको खेलमा जारेल क्वान्साह रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित हुँदा पनि बर्नले बेन्चबाट आएर टोलीको रक्षापंक्ति मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
बर्नका अनुसार मेक्सिकोमाथिको जित अब विगतको कुरा भइसकेको छ र अब सम्पूर्ण ध्यान नर्वेमाथि केन्द्रित गर्नुपर्ने समय आएको छ । प्रशिक्षक थोमस टुचेलले पनि टोलीलाई अब केवल नर्वेविरुद्धको चुनौतीमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
हालान्डबारे बोल्दै बर्नले भने, “उनीलाई पेनाल्टी क्षेत्रमा एउटा मात्र अवसर पर्याप्त हुन्छ । त्यसैले सबै खेलाडीले उच्च स्तरको प्रदर्शन गर्नुपर्छ ।”
यस विश्वकपमा हालान्डले सात गोल गरिसकेका छन्, जो गोल्डेन बुट दौडमा अग्रणी लियोनेल मेस्सीभन्दा केवल एक गोलले पछाडि छन् । तर बर्नले आफूले हालान्डविरुद्ध खेलेका अघिल्ला भेटमा उनलाई केवल एक गोल मात्र गर्न दिएको स्मरण गरे ।
“म हालान्डसँगको शारीरिक प्रतिस्पर्धा मन पराउँछु । यदि उनलाई रोक्ने जिम्मेवारी मलाई दिइयो भने म त्यसका लागि पूर्ण रूपमा तयार छु,” उनले भने । साथै, इङ्ग्ल्यान्डसँग अन्य उत्कृष्ट सेन्टर–ब्याकहरू पनि भएकाले टोलीको रक्षापंक्ति निकै बलियो रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्