नेभिगेशन
खेलकुद

‘रेफ्री कसैको प्रभावमा पर्दैनन्’

फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइजी कोलिनाले इजिप्टले अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि लगाइएका ‘आधारहीन आरोप’को प्रतिक्रिया दिँदै विश्वकपका म्याच अफिसियलहरूको ‘इमानदारीमाथि कसैले प्रश्न उठाउन नसक्ने’ बताएका छन् । मंगलबार इजिप्ट फुटबल संघ (ईएफए) ले आफ्नो टोली विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग पराजित भएको खेलमा जिम्मेवारी सम्हालेका रेफ्री र अफिसियलहरूलाई प्रतियोगिताबाट हटाउन फिफासँग माग गरेको थियो ।

दोस्रो हाफमा आफ्ना विपक्षमा भएका दुई निर्णायक निर्णयले अर्जेन्टिनालाई २–० को पछ्याइबाट फर्केर जित निकाल्न सहयोग गरेको भन्दै ईएफएले रेफ्रीहरूको ‘दोहोरो मापदण्ड’बारे अनुसन्धान गर्न माग गरेको थियो । कोलिनाले भने, “निर्णयबारे रचनात्मक बहस फुटबलको स्वाभाविक हिस्सा हो । तर आधारहीन आरोपको हाम्रो खेलमा कुनै स्थान छैन ।”

उनले थपे, “फिफा विश्वकपका म्याच अफिसियलहरूको इमानदारीमाथि कसैले प्रश्न उठाउन सक्दैन । यस्ता आरोपले उनीहरू र उनीहरूको परिवारमाथि धम्कीसमेत निम्त्याउन सक्छ, जुन बिल्कुलै उचित होइन ।”

खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीसँग ‘अन्याय भएको’ र ‘अनुचित व्यवहार गरिएको’ बताएका थिए । उनले भने, “सायद उनीहरू विश्व च्याम्पियनलाई प्रतियोगितामा कायम राख्न चाहन्थे । सायद उनीहरू मेस्सीलाई पनि प्रतिस्पर्धामा निरन्तर राख्न चाहन्थे ।” कोलिनाले ती आरोप अस्वीकार गर्दै भने, “फिफाको रेफ्री प्रणाली कसैको प्रभावमा पर्छ भन्ने दाबी पनि कसैले गर्न सक्दैन, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको समेत होइन ।”

उनले भने, “इन्फान्टिनोले सधैं फिफा टिम वनलाई पूर्ण समर्थन गर्नुभएको छ र हामीलाई पूर्ण स्वतन्त्रतासाथ काम गर्न विश्वास गर्नुभएको छ । खेलका अफिसियलहरूले इमानदारीपूर्वक निर्णय गर्छन् र खेलाडी तथा प्रशिक्षकजस्तै उनीहरू पनि सधैं आफ्नो उत्कृष्ट प्रयास गर्छन् ।”

यसैबीच, बोस्निया–हर्जेगोभिनाविरुद्ध रातो कार्ड पाएका फोलारिन बालोगुनमाथिको स्वतः लाग्ने प्रतिबन्ध फिफाले नलागू गर्ने निर्णयको पनि व्यापक आलोचना भएको छ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले उक्त निर्णयलाई “अभूतपूर्व, बुझ्नै नसकिने र कुनै पनि हिसाबले उचित ठहर गर्न नसकिने” भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त निर्णय पुनरावलोकन गर्न आफूले फिफालाई आग्रह गरेको बताएका छन् । इजिप्टले अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा १–० को अग्रता लिइरहेका बेला भिडियो सहायक रेफ्री (भीएआर) ले मोस्ताफा जिकोले गरेको गोल रद्द गरेको थियो । गोल बन्नुअघि मिडफिल्डर मारवान अत्तियाले अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजको खुट्टामा कुल्चिएको भन्दै फाउल दिइएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा अर्जेन्टिनाले विजयी गोल गर्नुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र भएको सम्भावित फाउललाई पनि रेफ्रीले बेवास्ता गरेका थिए । सामान्यतया विश्वकपका क्रममा कुनै विशेष घटनाबारे टिप्पणी नगर्ने नीति रहे पनि कोलिनाले यसपटक दुवै निर्णयको बचाउ गरे । उनले भने, “हरेक गोलपछि भीएआरले गोल बन्नुअघिको सम्पूर्ण आक्रमण प्रक्रिया (एपीपी) जाँच गर्छ । यदि गोल बन्नुअघि भएको फाउलले गोलमा प्रभाव पारेको देखियो भने भीएआरले रेफ्रीलाई मैदानमै पुनरावलोकन गर्न सिफारिस गर्छ ।”

उनले थपे, “फाउल गोलबाट कति टाढा भयो वा घटना र गोलबीच कति समयको अन्तर थियो भन्ने कुनै निश्चित सीमा छैन ।” कोलिनाले अर्जेन्टिना–इजिप्ट खेलकै उदाहरण दिँदै भने, “इजिप्टका नम्बर १९ मारवान अत्तियाले स्पष्ट रूपमा अर्जेन्टिनाका नम्बर ६ लिसान्द्रो मार्टिनेजको खुट्टामा कुल्चिएका थिए ।” उनले भने, “हाम्रो बुझाइमा फाउल भनेको फाउल नै हो । त्यो कति ‘स्पष्ट’ देखिन्छ भन्ने कुरा महत्त्वपूर्ण होइन । यदि मैदानमा रेफ्रीले देखेनन् भने भीएआरले हस्तक्षेप गर्न सक्छ ।”

“त्यसैगरी, यदि गोल बन्नुअघि कुनै फाउल भेटिएन भने भीएआरले रेफ्रीलाई त्यसैअनुसार जानकारी दिन्छ । विपक्षी खेलाडीको खुट्टामा कुल्चिनु फाउल हो, तर डिफेन्डरले पहिले बल छोएर त्यसपछि सामान्य फुटबल सम्पर्क भएको अवस्थामा त्यसलाई फाउल मानिँदैन ।”

कोलिनाले खेलको अन्तिम क्षणको अर्को घटनाको उदाहरण दिँदै भने, “रेफ्री र भीएआर दुवैले इजिप्टका नम्बर १० मोहम्मद सलाह र अर्जेन्टिनाका नम्बर ९ जुलियन आल्भारेजबीच भएको सम्पर्कलाई सामान्य फुटबल सम्पर्कका रूपमा मूल्याङ्कन गरेका थिए ।”

उनले निष्कर्षमा भने, “निश्चय नै केही निर्णयमा सधैं व्यक्तिपरक मूल्याङ्कनको तत्व रहनेछ । तर यस प्रतियोगिताभर यो सिद्धान्त जसरी लागू गरिएको छ, त्यसप्रति हामी सन्तुष्ट छौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्