नेभिगेशन
खेलकुद

विश्वकपबाट फर्किएका एडम्सको निधन

विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेको केही सातामै दक्षिण अफ्रिका तथा मामेलोडी सनडाउन्सका मिडफिल्डर जेडेन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ । एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाका तीनवटै समूह चरणका खेलहरू खेलेका थिए । उक्त प्रतियोगितामा उनीहरू नकआउट चरणमा पुगेका थिए भने अन्तिम ३२ को खेलमा आयोजक राष्ट्र क्यानडासँग पराजित भएका थिए । 
शनिबार बिहान मध्य केप टाउनको स्कोचेक्लोफस्थित एक घरमा २५ वर्षीय पुरुषको शव भेटिएपछि अनुसन्धान सुरु गरिएको दक्षिण अफ्रिकी प्रहरीले जनाएको छ ।
मन्त्री म्याकेन्जीले थपे, ‘जेडेनको निधनको कारण अझै पुष्टि हुन सकेको छैन । यो अत्यन्तै कठिन समयमा उनको परिवार र मामेलोडी सनडाउन्सलाई आवश्यक एकान्त र प्राइभेसी दिन म सञ्चारकर्मी र आम नागरिकलाई संयमता अपनाउन र कुनै पनि किसिमको अनुमानबाजी नगर्न आग्रह गर्दछु । यस विषयमा कुनै पनि आधिकारिक जानकारी सम्बन्धित निकायले उचित समयमा उपलब्ध गराउनेछ ।’
खेल सुरु हुनुभन्दा केही घण्टा अघि मात्र आफ्नी हजुरआमाको निधन भएको खबर सुनेका भए पनि एडम्सले समूह ‘ए’अन्तर्गत चेक रिपब्लिकविरुद्धको १–१ को बराबरी खेलमा सुरुवातदेखि नै खेलेका थिए । सन् २०२२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका एडम्सको ‘असामयिक निधनले आफूहरू स्तब्ध भएको’ दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले जनाएको छ, ‘जेडेनले हालै मात्र २०२६ को विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए, जसमा उनले गौरव, साहस र उत्कृष्टताका साथ सिंगो राष्ट्रको आशा बोकेका थिए । उनको निधनले उनको परिवार, सहकर्मी, क्लब, समग्र फुटबल जगत् र देशलाई नै अपूरणीय क्षति पुगेको छ । दक्षिण अफ्रिकी फुटबलले एक प्रतिभाशाली खेलाडी, खेलप्रतिको एक सच्चा सेवक र भविष्यमा अझै धेरै योगदान दिन सक्ने एउटा युवा गुमाएको छ ।’
स्टेलेनबोश एफसीबाट आफ्नो खेल जीवन सुरु गरेका एडम्स जनवरी २०२५ मा मामेलोडी सनडाउन्समा आबद्ध भएका थिए । त्यहाँ उनले लिग र अफ्रिकन च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनी २०२३ को अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुग्ने दक्षिण अफ्रिकी टोलीका सदस्य थिए । त्यसपछि ह्युगो ब्रोसको प्रशिक्षणमा रहेको विश्वकप टोलीमा छनोट भएका उनले टोलीलाई पहिलो पटक नकआउट चरणमा पु¥याएर इतिहास रच्न मद्दत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्