नेभिगेशन
खेलकुद

भोसिन्हाको नाममा नयाँ प्रजातिको नामकरण

विश्वकपमा केप भर्डेका लागि उत्कृष्ट प्रदर्शन गर्दै विश्वभरबाट प्रशंसा बटुलेका गोलरक्षक भोसिन्हाले अर्को सम्मान प्राप्त गरेका छन् । भर्खरै पत्ता लागेको समुद्री चिप्लेकिरा (सी स्लग) को एक नयाँ प्रजातिको नाम उनको नामबाट राखिएको छ । जीवविज्ञानी जेसस ओर्टियाले क्यारेबियन क्षेत्रमा पत्ता लगाएको उक्त सानो रातो जीवको नाम यस सानो राष्ट्रको विश्वकप अभियानका ४० वर्षीय स्टार खेलाडीको सम्मानमा राख्ने निर्णय गरेका हुन् । यसको नाम अब ‘एल्डिसा भोसिन्हा’ राखिएको छ ।
केप भर्डे विश्वकपको मुख्य प्रतियोगितामा पुग्ने हालसम्मकै दोस्रो सानो राष्ट्र हो । समूह चरण पार गर्दै अन्तिम ३२ मा पुगेको उक्त टोलीले साबिक विजेता अर्जेन्टिनालाई कडा टक्कर दिएको थियो । यद्यपि, अतिरिक्त समयमा ३–२ गोलले पराजित हुँदै उनीहरू प्रतियोगिताबाट बाहिरिएका थिए । त्यसअघि, भोसिन्हाको बहादुरीपूर्ण प्रदर्शनका कारण उनीहरूले युरोपेली च्याम्पियन स्पेनसँग गोलरहित बराबरी खेल्दै विश्वकपमा आफ्नो पहिलो अंक जोड्न सफल भएका थिए ।
आफ्नो खोजबारे तयार पारिएको एक प्रतिवेदनमा ओर्टियाले भोसिन्हाको ‘महŒवपूर्ण भूमिका’को कदर गर्न चाहेको उल्लेख गरेका छन् । साथै, उनले उक्त प्रदर्शन ‘ला रोजा’ (द रेड वन अर्थात् रातो टोली) उपनाम पाएको स्पेनविरुद्ध भएको कुरालाई पनि औंल्याएका छन् । उनको प्रतिवेदनमा थपिएको छ, ‘समर्पित गरिएको यस प्रजातिको रातो रङले उनको त्यही सफलताको स्मरण गराउँछ ।’
त्यस खेलमा भोसिन्हाको प्रदर्शनले उनको चर्चा रातारात चुलियो र इन्स्टाग्राममा उनका ५० हजार मात्र रहेका फलोअर्स बढेर १ करोड ७४ लाख पुगे । यो संख्या एनएफएल लिजेन्ड टम ब्राडीजस्ता चर्चित खेलाडीहरूको भन्दा पनि बढी हो । ओभिएडो विश्वविद्यालयका एमिरेटस प्राध्यापक ओर्टियालाई सन् २०२३ मा केप भर्डे वरपरको समुद्री क्षेत्रमा गरेको कामको कदर गर्दै उक्त टापु राष्ट्रले ‘मेडल अफ मेरिट’बाट सम्मान गरेको थियो । यद्यपि, ७५ वर्षीय यी फुटबल प्रेमीले आफ्नो रुचि र विज्ञानलाई यसरी जोडेको यो पहिलो घटना भने होइन । ओर्टियाले यसअघि कोस्टारिकामा पत्ता लगाएको एउटा प्रजातिको नाम सोही देशका पूर्व गोलरक्षक केलर नाभासको नाममा राखेका थिए । नाभासले रियल म्याड्रिड, पेरिस सेन्ट–जर्मेन र नटिंघम फरेस्टबाट पनि खेलिसकेका छन् । त्यसैगरी, स्पेनिस क्लब स्पोर्टिङ गिजोनको जस्तै रङ भएको एउटा सानो जीवको नाम उक्त क्लबका पूर्वस्ट्राइकर क्विनीको नाममा राखिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्