नेभिगेशन
खेलकुद

महान् खेलाडीहरूको उचाइतर्फ उक्लिँदै बेलिंघम

जुड बेलिंघमले इंग्ल्यान्डलाई मेक्सिको सिटीको उच्च भूभागदेखि मियामीको चर्को गर्मी र आद्र्रतासम्म सफलतापूर्वक अघि बढाएका छन् । उनको प्रदर्शन हेर्दा उनी ६० वर्षदेखि विश्वकप उपाधिविहीन रहेको इंग्ल्यान्डलाई फेरि विश्वविजेता बनाउने व्यक्तिगत अभियानमा लागेको जस्तो देखिन्छ । विश्वकप कहिलेकाहीँ एउटै खेलाडीको नियतिमा केन्द्रित हुने प्रतियोगिता बन्न पुग्छ । यस्तो खेलाडीले आफ्नै अदम्य लय र आत्मविश्वासका बलमा टोलीलाई फुटबलको सबैभन्दा ठूलो उपाधिसम्म पु¥याउँछ ।
सन् १९८६ मा अर्जेन्टिनाका डिएगो म्याराडोना, सन् २००२ मा जापानको योकोहामामा ब्राजिलका रोनाल्डोको पुनरागमन, र सन् २०२२ मा दोहामा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले जीवनकै सबैभन्दा ठूलो सपना पूरा गरेको क्षण यसको उदाहरण हुन् । मियामीको चर्को गर्मीमा नर्वेविरुद्ध दुई गोल गर्दै फेरि इंग्ल्यान्डलाई संकटबाट उकासे पनि बेलिंघमले ती महान् खेलाडीहरूको श्रेणीमा पुग्न अझै धेरै दूरी तय गर्न बाँकी छ ।
सबैभन्दा पहिले उनले यही विश्वकपमा अर्को ठूलो चुनौती सामना गर्नुपर्नेछ । स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमिफाइनल पुगेको मेस्सी नेतृत्वको अर्जेन्टिनासँग इंग्ल्यान्डको भेट एटलान्टामा हुनेछ । त्यसपछि पनि सम्भावित फाइनलमा स्पेन वा किलियन एमबाप्पेको नेतृत्वमा रहेको बलियो फ्रान्सको चुनौती बाँकी रहनेछ । इंग्ल्यान्डले अन्तिम पटक सन् १९६६ जुलाई ३० मा सर अल्फ राम्सेको नेतृत्वमा विश्वकप जितेको थियो । त्यसयताको ६० वर्ष लामो उपाधिविहीन यात्राको अन्त्य गर्न यी सबै कठिन अवरोध पार गर्नुपर्नेछ । यद्यपि कहिलेकाहीँ विश्वस्तरीय खेलाडीहरूले आफ्नै इच्छाशक्तिका बलमा विश्वकपको कथा परिवर्तन गरिदिन्छन् । बेलिंघमले लगातार उत्कृष्ट प्रदर्शनमार्फत त्यही संकेत गरिरहेका छन् ।
विश्वकपका महान् खेलाडीसँग तुलना
पेले वा म्याराडोनासँग अहिले नै बेलिंघमको तुलना गर्नु हतारो हुनेछ । ती दुवै फुटबल इतिहासका अमर किंवदन्ती हुन् । तर एज्टेका रंगशालामा मेक्सिकोविरुद्ध र त्यसपछि मियामीमा नर्वेविरुद्ध उनले खेलेका निर्णायक खेलले कम्तीमा तथ्यांकका आधारमा उल्लेखनीय तुलना सम्भव बनाएको छ । बेलिंघम एउटै विश्वकपको नकआउट चरणमा लगातार दुई खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि यस्तो उपलब्धि सन् १९८६ मा म्याराडोनाले हासिल गरेका थिए । २३ वर्षका बेलिंघम यो उपलब्धि हासिल गर्ने दोस्रो सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् । उनीभन्दा कान्छा केवल पेले हुन्, जसले १७ वर्षको उमेरमा सन् १९५८ मा स्विडेनमा सम्पन्न विश्वकपमा ब्राजिललाई उपाधि दिलाउने क्रममा यही उपलब्धि हासिल गरेका थिए ।
पेले र म्याराडोनाले विश्वकपमा लगाएको प्रतिष्ठित नम्बर १० जर्सीको गरिमालाई अहिले इंग्ल्यान्डको सेतो जर्सीमा बेलिंघमले पनि न्याय गरिरहेका छन् । नर्वेविरुद्धको खेलमा दुई गोलबाहेक पनि उनका तथ्यांक प्रभावशाली थिए । उनले पाँच प्रहार गरे, जुन इंग्ल्यान्डका कुनै पनि खेलाडीभन्दा बढी थियो । विपक्षीको पेनाल्टी क्षेत्रमा सबैभन्दा धेरै छ पटक बल छोए, आठ वटा व्यक्तिगत द्वन्द्व जिते र चार पटक फाउल पनि जिते । यससँगै उनले इंग्ल्यान्डका लागि निर्णायक गोल गर्ने आफ्नो निरन्तरता पनि कायम राखे ।
इंग्ल्यान्डका ‘गेम चेन्जर’ बेलिंघम
युरो २०२४ मा स्लोभाकियाविरुद्ध ९४ मिनेट ३४ सेकेन्डमा शानदार बाइसाइकल किकमार्फत बराबरी गोल गरेपछि बेलिंघमले समर्थकतर्फ फर्केर ‘अरू को त ?’ भन्ने प्रसिद्ध प्रतिक्रिया दिएका थिए । जर्मनीको गेल्जेनकिर्चेनमा भएको त्यो गोलले अन्तिम १६ को खेल अतिरिक्त समयमा पु¥यायो र इंग्ल्यान्डले अन्ततः जित निकाल्यो । त्यसयता उनको यात्रामा उतारचढाव पनि आए । एक समय प्रशिक्षक थोमस टुखेलले उनलाई टोलीबाट बाहिरसमेत राखेका थिए । तर यो विश्वकप भने उनका लागि निरन्तर उकालो यात्राजस्तै बनेको छ ।
मेक्सिकोविरुद्ध ३–२ को जितमा दुई गोल र त्यसपछि नर्वेविरुद्ध फेरि दुई गोल गरेपछि उनले फेरि एकपटक ‘अरू को त ?’ भन्ने आफ्नो पुरानो प्रतिक्रिया दोहो¥याउन सक्थे । बेलिंघमको अर्को विशेषता भनेको सबैभन्दा आवश्यक समयमा गोल गर्नु हो । इंग्ल्यान्डलाई सबैभन्दा बढी आवश्यकता परेको क्षणमा उनी निर्णायक बनेका छन् । इंग्ल्यान्डका लागि उनले गरेका १२ गोलमध्ये नौ गोल प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा आएका छन् । तीमध्ये पाँच गोलले टोलीलाई अग्रता दिलाएका छन् भने दुई गोल बराबरीका हुन् । सन् १९८६ को विश्वकपमा ग्यारी लिनेकरले गरेको छ गैर–पेनाल्टी गोलसँग बराबरी गर्ने अवसर पनि बेलिंघमसँग अझै बाँकी छ, किनकि प्रतियोगिता सकिएको छैन ।
उनी विश्वकपमा बायाँ खुट्टा, दायाँ खुट्टा र हेडिङ—तीनै माध्यमबाट गोल गर्ने एर्लिङ हालान्डपछि दोस्रो खेलाडी पनि बनेका छन् । यसले उनले गर्ने गोलको विविधता र आक्रामक क्षमताको प्रमाण दिन्छ । केही गोल अवसरको सदुपयोग गर्दै आएका छन् भने केही गोल व्यक्तिगत कौशल, गति, शक्ति र अद्भुत सीपको प्रदर्शनका रूपमा देखिएका छन् ।
महान् बन्ने यात्रामा
धेरै विश्वकप कभर गरिसकेका पत्रकारहरूका लागि यस्तो दृश्य नयाँ होइन । कतिपय खेलाडीहरू प्रतियोगिताको दबाबसँगै झन् उत्कृष्ट बन्दै टोलीलाई पनि माथि उठाउँछन् । सन् २००२ मा रोनाल्डोले फ्रान्स विश्वकपको निराशा र चोटपटकपछि पुनरागमन गर्दै ब्राजिललाई उपाधि दिलाएका थिए । फाइनलमा जर्मनीविरुद्ध दुवै गोल गरेपछि उनले केवल यति भनेका थिए, ‘पीडाको अन्त्य भयो ।’ मेस्सीले पनि सन् २०१४ मा जर्मनीसँग विश्वकप फाइनल हारेर पीडा भोगे । तर सन् २०२२ मा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्ततः आफ्नो सपना पूरा गरे ।
बेलिंघम अहिले त्यही स्तरमा पुगिसकेका छैनन् । तर कप्तान ह्यारी केनसँगै उनी इंग्ल्यान्डका लागि त्यत्तिकै महŒवपूर्ण बन्दै गएका छन् । युरो २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि उनी पनि आफ्नै प्रकारको पुनरागमन यात्रामा देखिन्छन् । रियल म्याड्रिडमा काँध र ह्यामस्ट्रिङको चोटका कारण उनले केही समय गुमाए । त्यसपछि बाल्यकालका साथी मोर्गन रोजर्सको उत्कृष्ट प्रदर्शनका कारण विश्वकपको पहिलो रोजाइमा उनी पर्ने कि नपर्ने भन्ने बहससमेत चलेको थियो ।
प्रशिक्षक टुखेलले दुवैबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन दिएका थिए । तर विश्वकपजस्तो ठूलो मञ्चमा उनले अन्ततः बेलिंघमको विश्वस्तरीय अनुभव र ठूलो खेल खेल्ने क्षमतामाथि भरोसा गरे । बेलिंघमले पनि सबै शंका गलत साबित गर्दै आफू किन पहिलो रोजाइ हुन् भन्ने प्रमाण मैदानमै दिएका छन् । यद्यपि उनी साँचो अर्थमा महान् खेलाडीका रूपमा स्थापित हुन इंग्ल्यान्डलाई ६ दशक लामो विश्वकप उपाधिको प्रतीक्षा अन्त्य गराउन सहयोग गर्नुपर्नेछ । अहिलेको अवस्थामा त्यो काम गर्न सबैभन्दा सक्षम खेलाडी उनी नै देखिन्छन् ।
अब मेस्सीसँगको महामुकाबला
३९ वर्षका लियोनल मेस्सी अझै पनि अर्जेन्टिनाका नेता र प्रेरणाका स्रोत हुन् । उनी अहिले पनि आफ्नो जादुई खेलमार्फत अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधितर्फ डो¥याउने क्षमता राख्छन् । यस विश्वकपमा मेस्सीले आठ गोल गरिसकेका छन् । तर बेलिंघमको उपस्थितिले इंग्ल्यान्डलाई पनि आफूहरूसँग खेलको दिशा परिवर्तन गर्न सक्ने विश्वस्तरीय खेलाडी रहेको विश्वास दिलाएको छ ।
अब विश्व फुटबलले दुई नम्बर १०—मेस्सी र बेलिंघमबीचको रोचक भिडन्त हेर्न पाउनेछ । यी दुईमध्ये को विजयी हुन्छ भन्ने कुराले फ्रान्स वा स्पेनसँग विश्वकप फाइनल खेल्ने टोलीको टुंगो लगाउन सक्छ । बुधबार एटलान्टामा हुने सेमिफाइनलअघि बेलिंघमलाई यति ठूलो महŒवका साथ हेरिनु नै उनले इंग्ल्यान्ड र समग्र विश्वकपमा पारेको असाधारण प्रभावको प्रमाण हो । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्