नेभिगेशन
खेलकुद

पूर्वप्रधानमन्त्रीको ‘रंगभेदी’ टिप्पणी, सर्वत्र आलोचना

फ्रान्सको विश्वकप टिममा ‘कोही पनि फ्रान्सेली खेलाडी छैनन्’ भन्ने अभिव्यक्ति दिएपछि स्पेनका पूर्वप्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ । फ्रान्स र स्पेनका नेताहरूले उनको यो भनाइलाई रंगभेदी (नश्लवादी) भनेका छन् ।
स्पेनको कन्जरभेटिभ पपुलर पार्टीका सदस्य मारियानो राखोयले युरोपेली छिमेकी देशहरूबीच मंगलबार हुने विश्वकपको सेमिफाइनल खेलअघि स्पेनिस सञ्चारमाध्यम ‘एल डिबेट’को एउटा स्तम्भमा यस्तो टिप्पणी गरेका हुन् ।
‘उनीहरूले यस विश्वकपमा खेलेका हरेक खेल जितेका छन् र हाल फिफा वरीयताको शीर्ष स्थानमा छन् । उनीहरूसँग एकदमै बलियो टोली पनि छ । तर, उनीहरूसँग नभएको एउटै कुरा भनेको फ्रान्सेली खेलाडी हो,’ राखोयले जुलाई १० मा लेखेका थिए ।
सोमबार, फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटले फ्रान्सेली टेलिभिजन ‘बीएफएम टिभी’ सँग कुरा गर्दै भने, ‘फ्रान्सको कुनै छालाको रङ हुँदैन । यसको विपरीत हुने कुनै पनि दाबी मूर्खता, रंगभेद वा यी दुवैको मिश्रणबाट आउँछ ।’
त्यसको एक दिनअघि, फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डायलोले सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मा लेखेका थिए, ‘फ्रान्सेली टिमको बारेमा मारियानो राखोयको टिप्पणीले सहन नसकिने रंगभेदको संकेत गर्छ । यसले यस्तो भावना पैदा गर्ने निन्दनीय वातावरणका बारेमा पनि प्रश्न खडा गर्छ । हाम्रा खेलाडीहरूलाई स्पेनका पूर्व प्रधानमन्त्रीबाट राष्ट्रियताको प्रमाणपत्र चाहिँदैन ।’
सन् २०११ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका राखोयको उक्त अभिव्यक्तिको स्पेनको सत्तारूढ समाजवादी सरकारले पनि तत्कालै कडा शब्दमा निन्दा गरेको छ ।
आइतबार, वर्तमान प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्ना पूर्ववर्तीको नाम नलिईकनै ‘एक्स’ मा लेखेः ‘कतिपयले अझै पनि थर, जन्मस्थान वा छालाको रंगको आधारमा आफ्नोपनको मापन गर्छन् । अरूले भने देशसँगको हाम्रो जरा र यसमा योगदान पु¥याउने हाम्रो इच्छाबाट यसको मापन गर्छन् । चाहे त्यो फुटबल खेल्ने होस्, हाम्रा अग्रजहरूको हेरचाह गर्ने होस् वा व्यापार सुरु गर्ने होस् । फ्रान्स, हामी सेमिफाइनलमा भेट्नेछौं । उत्कृष्टको जित होस् र रंगभेदको हार होस् ।’
फ्रान्सले मंगलबार डलासमा स्पेनको सामना गर्दैछ । स्पेनका विदेशमन्त्री होसे म्यानुअल अल्बारेसले पनि सोमबार बोल्दै पपुलर पार्टीका नेता अल्बर्टो नुनेज फेइजोले उक्त टिप्पणीलाई अस्वीकार गर्नुपर्ने बताएका छन् । फ्रान्सको टिमले यस विश्वकपमा रंगभेदको सामना गर्नुपरेको यो पहिलो घटना भने होइन ।
यसै महिनाको सुरुमा, फ्रान्सेली कप्तान तथा स्टार खेलाडी किलियन एम्बाप्पेले पाराग्वेकी एक सिनेटरको टिप्पणीको निन्दा गरेका थिए । राउन्ड अफ १६ मा फ्रान्ससँग पाराग्वे पराजित भएपछि ती सिनेटरले विवादित अभिव्यक्ति दिएकी थिइन् ।
जुलाई ४ मा एम्बाप्पेको पेनाल्टी गोलको मद्दतले फ्रान्सले जित हासिल गरेपछि, पाराग्वेको लिबरल ¥याडिकल पार्टीकी सिनेटर सेलेस्टे अमरिलाले ‘एक्स’ मा फ्रान्सेली खेलाडीको उत्पत्ति, हुर्काइ, शिक्षा र रूपरंगको मजाक उडाउँदै लगातार धेरै टिप्पणीहरू पोस्ट गरेकी थिइन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्