नेभिगेशन
खेलकुद

स्लाभेन बिलिच पुनः क्रोएसियाको मुख्य प्रशिक्षक

विश्वकपपछि टोलीका सबैभन्दा सफल प्रशिक्षक जाल्तको डालिचले पदबाट राजीनामा दिएपछि स्लाभेन बिलिच फेरि क्रोएसियाको प्रशिक्षक बनेका छन् ।
छ वर्षसम्म टोलीको नेतृत्व गरेर १४ वर्षअघि बिदा भएका बिलिच यस पटक प्रिमियर लिगका वेस्ट ह्याम र वेस्ट ब्रोमिच, साथै टर्की र साउदी अरेबियामा काम गरेको थुप्रै अनुभव बटुलेर फर्केका छन् ।
‘म यो चुनौती सुरु गर्न पाउँदा साँच्चै खुसी छु र म यसका लागि पूर्ण रूपमा तयार महसुस गरिरहेको छु । म सन् २००६ मा भन्दा अहिले धेरै परिपक्व र अनुभवी प्रशिक्षक भइसकेको छु, तर क्रोएसियालाई शक्तिशाली, निर्भीक र सफल देख्ने मेरो प्रेरणा र चाहना उस्तै छ,’ बिलिचले आफ्नो विज्ञप्तिमा भनेका छन् ।
उनले यस्तो समयमा क्रोएसियाको जिम्मेवारी सम्हालेका छन्, जहाँ विश्वकपबाट टोली बाहिरिएपछि निकै आलोचना भइरहेको थियो । राउन्ड अफ ३२ मा पोर्चुगलसँग २–१ ले पराजित हुँदा क्रोएसियाको अन्तिम समयको बराबरी गोललाई बलमा रहेको सेन्सरले निकै सामान्य स्पर्शका आधारमा अफसाइड घोषणा गरेको थियो ।
यससँगै डालिचको नौ वर्ष लामो कार्यकालको अन्त्य भएको छ । उनले सन् २०१८ मा क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलसम्म पु¥याएका थिए, जहाँ टोली फ्रान्ससँग पराजित भयो । साथै, सन् २०२२ मा उनले टोलीलाई तेस्रो स्थान दिलाएका थिए । गत साता उनले पदबाट राजीनामा दिँदा राष्ट्रिय फुटबल महासंघले उनलाई सामाजिक सञ्जालमा ‘क्रोएसियाका सर्वकालीन महान् प्रशिक्षक’ भन्दै सम्मान गरेको थियो ।
बिलिच सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्ने क्रोएसियाली टोलीका उत्कृष्ट डिफेन्डर थिए, जुन भर्खरै स्वतन्त्र भएको राष्ट्रका लागि एक ऐतिहासिक नतिजा थियो । उनको अन्तिम प्रशिक्षक पद साउदी क्लब अल–फतेहमा थियो, जहाँ उनले जुलाई २०२३ देखि अगस्ट २०२४ सम्म काम गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्