नेभिगेशन
खेलकुद

इंग्ल्यान्ड र अर्जेन्टिनाको दशकौँ पुरानो कट्टर प्रतिद्वन्द्विता बौरियो

विश्व फुटबलकै सबैभन्दा तीव्र प्रतिद्वन्द्वितामध्ये एक मानिने इंग्ल्यान्ड र अर्जेन्टिना विहीबार बिहान विश्वकपको सेमिफाइनलमा फेरि आमनेसामने भए  ।
एटलान्टामा भइरहेको यस खेलको अन्तिम नतिजा यो समाचार बनाउञ्जेल आउन बाँकी नै छ तर विजेताले आइतबार न्यु जर्सीको इस्ट रदरफोर्डमा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुखेलले भने, “यी दुई टोलीका जर्सी आफैंमा ऐतिहासिक छन् र उनीहरूबीच भएका खेलहरू पनि विश्व फुटबलका अविस्मरणीय अध्याय हुन् ।”
कट्टर प्रतिद्वन्द्विताको इतिहास
विश्वकपमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा सन् १९६२ देखि सुरु भएको मानिन्छ । तर चार वर्षपछि सन् १९६६ को क्वार्टरफाइनलमा इंग्ल्यान्डले १–० को जित निकालेपछि यो प्रतिद्वन्द्विता अझ चर्कियो ।
त्यो तनावपूर्ण खेलमा अर्जेन्टिनाका कप्तान एन्टोनियो राट्टिनलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाइएको थियो । राट्टिनको निधन भएको समाचार गत शनिबार सार्वजनिक भएको थियो ।
त्यसपछि इंग्ल्यान्डले इतिहासमै पहिलो तथा अहिलेसम्मकै एकमात्र विश्वकप उपाधि जितेको थियो ।
त्यसको ठीक २० वर्षपछि मेक्सिकोमा भएको सन् १९८६ विश्वकपमा डिएगो म्याराडोनाले कुख्यात ‘ह्यान्ड अफ गड’ गोल गर्दै अर्जेन्टिनालाई क्वार्टरफाइनलमा २–१ को जित दिलाएका थिए । अर्जेन्टिनाले त्यसै विश्वकपमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएको थियो ।
उक्त खेलमै म्याराडोनाले विश्वकप इतिहासकै उत्कृष्ट गोलमध्ये एक मानिने गोल पनि गरेका थिए । उनले हाफलाइनबाट बल लिएर इंग्ल्यान्डका गोलरक्षक पिटर शिल्टनलाई समेत छक्याउँदै अविस्मरणीय गोल गरेका थिए ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने, “त्यो गोल सधैं हाम्रो हृदयमा रहनेछ । त्यो साँच्चिकै अद्भुत गोल थियो । फुटबललाई माया गर्ने जो–कोहीले त्यसलाई सधैं उत्कृष्ट क्षणका रूपमा सम्झिनेछन् ।”
सन् १९९८ को विश्वकपमा पनि इंग्ल्यान्डले आफू अन्यायमा परेको महसुस गरेको थियो । अर्जेन्टिनाका मिडफिल्डर डिएगो सिमियोनेलाई लात हानेपछि डेभिड बेकह्याम रातो कार्ड पाएर बाहिरिए र अन्ततः इंग्ल्यान्ड पेनाल्टी सुटआउटमा पराजित भयो ।
तर चार वर्षपछि बेकह्यामले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई १–० को जित दिलाए । त्यस हारसँगै अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको थियो ।
इतिहासभरको यो तिक्त प्रतिस्पर्धालाई ध्यानमा राख्दै प्रशिक्षक टुखेलले आफ्ना खेलाडीको भावनात्मक पक्षलाई नियन्त्रणमा राख्ने प्रयास गरेका छन् ।
उनले भने, “यति धेरै ऐतिहासिक क्षण जोडिएको खेललाई सामान्य खेल मात्र भन्न सकिँदैन । तर प्रशिक्षकका रूपमा हामी त्यसलाई सामान्य खेलकै रूपमा लिन्छौं । हामी इतिहासका घटनाबारे वा ती प्रतिष्ठित क्षणहरूबारे खेलाडीसँग चर्चा गर्दैनौं ।”
सेमिफाइनलसम्मको यात्रा सहज रहेन
दुवै टोलीको सेमिफाइनल यात्रा सहज भने रहेन । अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डे र इजिप्टविरुद्ध कठिन चुनौती पार गरेको थियो । क्वार्टरफाइनलमा १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराएर मात्र अन्तिम चारमा स्थान बनाएको थियो ।
इंग्ल्यान्डले पनि कंगो र नर्वेविरुद्ध सुरुआती गोल खाएपछि पुनरागमन गर्दै जित निकालेको थियो । अन्तिम १६ को खेलमा सह–आयोजक मेक्सिकोविरुद्ध उच्च उचाइमा खेलिएको अत्यन्त कठिन प्रतिस्पर्धामा एक खेलाडी कम हुँदा पनि ३–२ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनल पुगेको थियो ।
मेसीविरुद्ध केन र बेलिङ्घम
३९ वर्षीय लियोनेल मेसी फेरि एकपटक अर्जेन्टिनाका सबैभन्दा भरपर्दा खेलाडी बनेका छन् । उनले यस विश्वकपमा आठ गोल गर्नुका साथै महŒवपूर्ण गोलका अवसर पनि सिर्जना गरेका छन् ।
यता इंग्ल्यान्डको आक्रमण मुख्यतः कप्तान ह्यारी केन र युवा स्टार जुड बेलिङ्घममा निर्भर रहेको छ । दुवैले हालसम्म समान ६–६ गोल गरेका छन् भने बेलिङ्घमले इंग्ल्यान्डका पछिल्ला दुई खेलमा लगातार दुई–दुई गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्