नेभिगेशन
खेलकुद

सेमिफाइनलको दबाब झेल्न आइसक्रिम

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको टोलीविरुद्ध हुने विश्वकप सेमिफाइनलअघि टुचेलले आफू बाल्यकालको अनुभूतिसँग फेरि जोडिएर तनाव कम गर्ने गरेको बताए ।
“कहिलेकाहीँ साइकल लिएर निस्किनुहोस् । एउटा ठूलो पार्किङ स्थल चाहिन्छ, हातमा एउटा आइसक्रिम । १५ मिनेट साइकल चलाएपछि फेरि आफू १५ वर्षको किशोर भएको जस्तो महसुस हुन्छ,” टुचेलले मंगलबार भने, “गर्मीको साँझमा १५ मिनेट आइसक्रिम खाँदै साइकल चलाउँदा जीवनको त्यो सुन्दर अनुभूतिसँग फेरि जोडिन सकिन्छ, जुन हामी सबैभित्र अझै पनि जीवित छ । कहिलेकाहीँ यति मात्रै पर्याप्त हुन्छ ।”
जर्मनीका प्रशिक्षक टुचेललाई सन् २०२४ मा इंग्ल्यान्डको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो । उनलाई सन् १९६६ मा विश्वकप जितेपछि पहिलोपटक इंग्ल्यान्डलाई ठूलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने जिम्मेवारी दिइएको छ ।
अहिले उनी इंग्ल्यान्डलाई विश्वकप इतिहासकै दोस्रो फाइनलमा पु¥याउन केवल एक जित टाढा छन् ।
इंग्ल्यान्डले विहीबार बिहान अमेरिकाको एटलान्टामा साविक विजेता अर्जेन्टिनासँग सेमिफाइनल खेल्दैछ । मेस्सीजस्तो महान् खेलाडीको सामना गर्नुपर्ने र विश्व फुटबलकै सबैभन्दा तीव्र प्रतिस्पर्धामध्ये एक मानिने इंग्ल्यान्ड–अर्जेन्टिना भिडन्त हुन लागेकाले टुचेलमाथि दबाब हुनु स्वाभाविक मानिन्छ ।
तर उनले प्रतियोगिताले आफूलाई शारीरिक र मानसिक रूपमा थकित बनाएको स्वीकार गरे पनि त्यसले आफूलाई थप ऊर्जा दिएको बताए । मेक्सिकोसम्मको लामो यात्रा, उच्च उचाइमा खेल्नुपरेको अवस्था तथा कंगो र नर्वेविरुद्ध पुनरागमन गर्दै जित निकाल्नुपरेका खेलहरूले प्रतियोगितालाई ‘रोलरकोस्टर’जस्तै बनाएको उनको भनाइ थियो ।
“म यति मात्र भन्न सक्छु, यसले मलाई ऊर्जा दिन्छ र आफू जीवित भएको अनुभूति गराउँछ,” उनले भने, “म यसलाई यति धेरै माया गर्छु कि यसले मलाई हरेक दिन नयाँ ऊर्जा दिन्छ ।”
बोरुसिया डर्टमुण्ड, पेरिस सेन्ट–जर्मेन, चेल्सी र बायर्न म्युनिखजस्ता क्लबहरूसँग धेरै उपाधि जितिसकेका टुचेलले विश्वकपमा प्रशिक्षक बन्न पाउनु आफ्ना लागि ठूलो सौभाग्य भएको बताए ।
इंग्ल्यान्डको ६० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने जिम्मेवारीबारे सोध्दा उनले भने, “म कुनै बोझ महसुस गर्दिनँ । तनाव भने अवश्य हुन्छ, म पनि नर्भस हुन्छु र त्यो स्वाभाविक हो तर ममाथि कुनै बोझ छैन ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्