नेभिगेशन
खेलकुद

विश्वकप समापनमा टम क्रुजदेखि आइशोस्पिडसम्म

विश्व फुटबलको सर्वोच्च प्रतियोगिता विश्वकप २०२६ को समापन समारोहलाई भव्य बनाउन हलिउड अभिनेता टम क्रुजदेखि चर्चित स्ट्रिमर आइशोस्पिडसम्मका कलाकार सहभागी हुने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार समापन समारोहका कलाकारहरूको सूची सार्वजनिक गरेको हो ।
फिफाका अनुसार आइतबार हुने विश्वकप फाइनल खेल सुरु हुनुभन्दा ९० मिनेटअघि समापन समारोह आयोजना हुनेछ । प्रतियोगितामा सहभागी ४८ टोलीले क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ आयोजक सहरमा तय गरेको अविस्मरणीय यात्राको उत्सव मनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको फिफाले विज्ञप्तिमार्फत जनाएको छ ।
विश्वभर लोकप्रिय युट्युब स्ट्रिमर आइशोस्पिड, जसले विश्वकपका धेरै खेल प्रत्यक्ष प्रसारण गरेका छन्, समापन समारोहमा प्रस्तोता कलाकारका रूपमा रहनेछन् । हलिउड सुपरस्टार टम क्रुज भने ‘विशेष उपस्थितिका’ रूपमा समारोहमा सहभागी हुनेछन् । क्रुज यसअघि पनि विश्वकपका खेलहरू हेर्न रंगशालामा देखिएका थिए भने उनले पेरिस ओलम्पिकको समापन समारोहमा साहसिक प्रस्तुति दिएका थिए ।
समारोहमा इटालीकी चर्चित गायिका लाउरा पाउसिनीले पनि प्रस्तुति दिनेछिन् । उनले गत फेब्रुअरीमा मिलान–कोर्तिना शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा पनि प्रस्तुति दिएकी थिइन् । त्यस्तै, टोनी अवार्ड विजेता तथा ‘पुसीक्याट डल्स’ समूहकी सदस्य निकोल शेर्जिङ्गर र बेलायती गायक तथा पूर्व ‘टेक द्याट’ सदस्य रोबी विलियम्स पनि समापन समारोहमा सहभागी हुनेछन् ।
इमी, ग्रामी, ओस्कार र टोनी—चारवटै प्रतिष्ठित पुरस्कार (ईगोट) जितेकी अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर हड्सनले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गान प्रस्तुत गर्नेछिन् ।
विश्वकप २०२६ का प्रमुख सञ्चालन अधिकृत हाइमो शिर्गीले उद्घाटन समारोहले जस्तै समापन समारोहले पनि संगीत, संस्कृति र फुटबलमार्फत विश्वकपको सम्पूर्ण यात्रालाई पूर्णता दिने बताए ।
उनले भने, “क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा आयोजित उद्घाटन समारोहले संसारलाई विश्वकपको महान् मञ्चमा स्वागत गरेको भावनालाई निरन्तरता दिँदै समापन समारोहले संगीत, संस्कृति र फुटबलमार्फत विश्वकप २०२६ को यात्रालाई पूर्णता दिनेछ । त्यसपछि यस ऐतिहासिक प्रतियोगिताको विजेता निर्धारण गर्ने बहुप्रतीक्षित फाइनल खेल सुरु हुनेछ ।”
आइतबारको फाइनलमा विश्वकप इतिहासकै पहिलो ‘हाफटाइम शो’ पनि आयोजना हुँदैछ, जसमा थप धेरै अन्तर्राष्ट्रिय चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन् । यद्यपि विश्वकपमा समापन समारोह आयोजना गर्ने परम्परा भने नयाँ होइन ।
यस वर्षको समापन समारोह बालिच वन्डर स्टुडियोसँगको सहकार्यमा निर्माण भइरहेको छ । उक्त स्टुडियोका प्रमुख मार्को बालिचले यसअघि कतारमा भएको २०२२ विश्वकपको उद्घाटन तथा समापन समारोहको समेत निर्देशन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्