मिलानका इटालियन मूर्तिकार सिल्भियो गाज्जानिगाले फिफा विश्वकप ट्रफी डिजाइन गर्दा एउटै घुमाउरो आकृतिमा खेलसँग जोडिएका तीन भावना समेट्ने प्रयास गरेका थिए—खेलाडीको संघर्ष, समर्थकको उल्लास र विजयको क्षण ।
आइतबार २०२६ फिफा विश्वकपको फाइनलपछि स्पेन वा अर्जेन्टिनामध्ये एक टोलीले यही प्रतिष्ठित ट्रफी उचाल्नेछ ।
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कारबारे जान्नुपर्ने मुख्य तथ्यहरू यस्ता छन् ।
विश्वकप ट्रफीको डिजाइन मिलानमा
सन् १९७० मा ब्राजिलले तेस्रो पटक विश्वकप जित्दै मूल ट्रफी स्थायी रूपमा आफ्नो कब्जामा लिएपछि फिफाले नयाँ ट्रफीको डिजाइनका लागि खुला प्रतिस्पर्धा आह्वान गरेको थियो । त्यसपछि मिलानको ब्रेरा क्षेत्रमा रहेको आफ्नै स्टुडियोमा सिल्भियो गाज्जानिगाले अहिले विश्वभर परिचित बनेको ट्रफीको डिजाइन तयार गरेका थिए ।
यो डिजाइनमा पृथ्वीको प्रतीकस्वरूप एउटा गोलाकार आकृतितर्फ माथि उक्लिरहेका दुई मानव आकृतिहरू देखिन्छन् ।
त्यतिबेला किशोरावस्थामा रहेका उनका छोरा जर्जियो गाज्जानिगा भन्छन्, “उहाँले ट्रफी डिजाइन गर्न सुरु गर्दा असंख्य स्केच बनाउनुभयो । अन्ततः संसारलाई प्रतिनिधित्व गर्ने गोलाकार आकृति र डीएनएका दुईवटा घुमाउरा सर्पिलजस्ता माथितर्फ उक्लिरहेका प्रतीक समेट्ने अवधारणा विकास गर्नुभयो ।”
सन् २०१६ मा निधन भएका वरिष्ठ गाज्जानिगा मूर्तिकार तथा ट्रफी डिजाइनर थिए । उनी जी.डी.ई. बेर्टोनी एसआरएल कम्पनीसँग आबद्ध थिए र उनले यूईएफए कप तथा युरोपियन सुपर कपसहित विश्वका धेरै प्रतिष्ठित ट्रफीहरू पनि डिजाइन गरेका थिए ।
अघिल्लो विश्वकप ट्रफी चोरी भयो र कहिल्यै भेटिएन
सन् १९३० को पहिलो विश्वकपसँगै प्रयोगमा ल्याइएको पहिलो ट्रफीमा ग्रीक विजयदेवी ‘नाइकी’को आकृति थियो । प्रतियोगिताका संस्थापक जुल्स रिमेको सम्मानमा यसलाई ‘जुल्स रिमे ट्रफी’ भनिन्थ्यो ।
ब्राजिलले तीन पटक विश्वकप जितेपछि उक्त ट्रफी स्थायी रूपमा आफ्नो बनाएको थियो । त्यसपछि फिफाले नयाँ ट्रफी बनाउने निर्णय ग¥यो ।
जुल्स रिमे ट्रफी दुई पटक चोरी भएको थियो । पहिलो पटक सन् १९६६ मा इंग्ल्यान्डमा सार्वजनिक प्रदर्शनका क्रममा चोरी भयो । फिफाका अनुसार दक्षिण लन्डनको एउटा झाडीमुनि ‘पिकल्स’ नामको कुकुरले त्यसलाई फेला पारेको थियो ।
दोस्रो पटक सन् १९८३ मा ब्राजिलियन फुटबल महासंघको मुख्यालयबाट ट्रफी चोरी भयो । त्यसयता त्यो कहिल्यै भेटिएको छैन र धेरैको विश्वासमा त्यसलाई पगालेर नष्ट गरिएको थियो ।
गाज्जानिगाको डिजाइनले विजयका लागि गरिएको संघर्ष चित्रण गर्छ
प्रतिस्पर्धामा ५० भन्दा बढी प्रस्ताव दर्ता भएका थिए । तर पूर्ण आकारको नमुना प्रस्तुत गर्ने एकमात्र व्यक्ति गाज्जानिगा थिए । यसले निर्णायकहरूलाई ट्रफीको आकारसँगै त्यसले व्यक्त गर्न खोजेको कथा पनि बुझ्न सहज भएको उनका छोरा बताउँछन् ।
जर्जियो गाज्जानिगा भन्छन्, “यसमा संसार सबैभन्दा माथि छ । त्यहाँ खेलाडीको मेहनत छ, धातुभित्रै खेलाडीको गतिशीलता छ । खेलाडीको शरीर खस्रो र कठोर देखिन्छ, किनकि उसले पीडा सहेको छ, संघर्ष गरेको छ र विजयका लागि लडेको छ ।”
उनका अनुसार, “त्यो विजय खेलाडीका हातमार्फत व्यक्त गरिएको छ, जुन विजयदेवीका पखेटाजस्तै देखिन्छन् । यसले खेलाडीको सफलता मात्र होइन, समर्थकको उत्साह र उल्लासलाई पनि समेट्छ ।”
गाज्जानिगा परिवारले अहिले मिलान बाहिर नयाँ स्थानमा उनको कार्यालय जस्ताको तस्तै संरक्षण गरेर राखेको छ । त्यहाँ उनका प्रारम्भिक स्केच, फिफामा बुझाइएको मौलिक नमुना र मोमबाट बनाइएको प्रारूप सुरक्षित छन् ।
विश्वकप विजेताले वास्तविक ट्रफी स्थायी रूपमा राख्न पाउँदैनन्
फाइनलपछि विजेता टोलीका कप्तानले उचाल्ने आधिकारिक विश्वकप ट्रफी ३६ सेन्टिमिटर (१४ इन्च) अग्लो छ । यो १८ क्यारेट सुनबाट बनेको छ र यसको आधारमा हरियो म्यालाकाइट ढुंगाका दुई घेरा जडान गरिएको छ, जसले फुटबल मैदानको प्रतीक जनाउँछन् ।
प्रतियोगिता सकिएपछि वास्तविक ट्रफी पुनः फिफाकै स्वामित्वमा फर्किन्छ र अर्को विश्वकपसम्म स्विट्जरल्यान्डस्थित फिफा मुख्यालयमा सुरक्षित राखिन्छ । विजेता राष्ट्रले भने सुनको जलप लगाइएको प्रतिकृति ट्रफी घर लैजान्छ ।
फिफाले अब कुनै पनि राष्ट्रले तीन पटक विश्वकप जितेपछि पनि वास्तविक ट्रफी स्थायी रूपमा राख्न नपाउने व्यवस्था लागू गरेको छ ।
यो गाज्जानिगाको डिजाइन प्रयोग गरिएको १४औँ विश्वकप हो । गाज्जानिगाको वेबसाइटका अनुसार फिफाले कम्तीमा सन् २०३८ को विश्वकपसम्म यही ट्रफी प्रयोग गर्ने निर्णय गरिसकेको छ ।
जर्जियो गाज्जानिगालाई सन् १९७४ को विश्वकप फाइनल अझै स्पष्ट रूपमा सम्झना छ । त्यतिबेला पश्चिम जर्मनी र नेदरल्यान्ड्सबीचको फाइनल उनी आफ्ना परिवारसँग घरमै बसेर हेर्दै थिए । त्यही पहिलो पटक उनका बाबुले डिजाइन गरेको ट्रफी विश्वकप विजेतालाई प्रदान गरिएको थियो ।
उनी भन्छन्, “जर्मन टोलीले म्युनिखमा ट्रफी उचाल्नेबित्तिकै पूरै रंगशाला उल्लासले गुञ्जियो । वास्तविक खुसीको विस्फोट त्यही क्षण भएको थियो । त्यही दिन एउटा साधारण वस्तु विश्व फुटबलको अमर प्रतीकमा रूपान्तरण भयो ।”