नेभिगेशन
खेलकुद
विश्वकपको रोमाञ्चसँगै विवादको आँधी

फिफाका निर्णयदेखि भीएआरसम्म प्रश्नै–प्रश्न

सन् २०२६ को विश्वकप फुटबल खेलस्तर, अप्रत्याशित नतिजा र रोमाञ्चका कारण जति चर्चित रह्यो, त्यति नै विवादका कारण पनि आलोचित बन्यो । मैदानभित्र भीएआरका निर्णयदेखि मैदानबाहिर भिसा नीति, राजनीतिक हस्तक्षेप, फिफाको अनुशासनात्मक निर्णय र खेल तालिकासम्मका विषयले प्रतियोगिताभर बहस सिर्जना गरे । 
सबैभन्दा धेरै प्रश्न उठेको विषय भीएआरको प्रयोग रह्यो । जर्मनी, क्रोएसिया, इजिप्ट, नर्वे र अमेरिकाजस्ता टोलीका समर्थकले निर्णायक क्षणमा भएका भीएआर निर्णयले खेलको नतिजा नै प्रभावित गरेको आरोप लगाए । कतिपय गोल रद्द भए, पेनाल्टी दिइयो वा नदिइयो, जसका कारण प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठ्यो । विशेषगरी इजिप्टले अर्जेन्टिनासँगको हारपछि ‘अन्याय भएको’ भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेको थियो ।  
अमेरिकी फरवार्ड फोलारिन बालोगुनको रातो कार्डसम्बन्धी निर्णय विश्वकपकै सबैभन्दा विवादास्पद घटनामध्ये एक बन्यो । सुरुमा एक खेल प्रतिबन्ध लगाइएका उनलाई खेलअघि नै खेल्न अनुमति दिइयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेपछि निर्णय बदलिएको दाबी गरेपछि विवाद झन् चर्कियो । फिफाले अनुशासन समितिको विशेष निर्णय भन्दै बचाउ गरे पनि पारदर्शितामाथि प्रश्न उठ्यो । 
विश्वकप आयोजक मुलुकहरूको आप्रवासन नीतिले पनि प्रतियोगितालाई प्रभावित ग¥यो । सोमाली रेफ्री ओमार आर्टान अमेरिकाको भिसा नपाएर प्रतियोगिताबाट बाहिरिन बाध्य भए भने अमेरिका–इरान तनावका कारण इरानी टोलीले यात्रा र बसोबासमा अनेक कठिनाइ भोग्नुप¥यो । फिफाले यस्ता विषय आयोजक देशको अधिकारक्षेत्रभित्र पर्ने बताउँदै जिम्मेवारीबाट आफूलाई अलग राख्यो । 
राजनीतिक अभिव्यक्तिमाथिको फिफाको कडा नीति पनि आलोचनाको केन्द्रमा रह्यो । हैटीको जर्सीमा रहेको ऐतिहासिक चित्र हटाउन लगाइयो, इरानी समर्थकका झन्डा जफत गरिए, तर अर्जेन्टिनाले फकल्याण्ड टापुसम्बन्धी ब्यानर प्रदर्शन गर्दा कारबाही नभएपछि फिफाले दोहोरो मापदण्ड अपनाएको आरोप लाग्यो । 
यसबाहेक, प्रत्येक हाफमा अनिवार्य गरिएका ‘हाइड्रेसन ब्रेक’लाई खेलाडी, प्रशिक्षक र समर्थकले विज्ञापनमुखी निर्णय भन्दै आलोचना गरे । कतिपय खेलमा मौसमको आवश्यकता नभए पनि ब्रेक गराइएकाले फिफाको व्यावसायिक प्राथमिकतामाथि प्रश्न उठ्यो । 
मेक्सिको समर्थकको विवादास्पद नारा, कतारी खेलाडी असिम मादिबोलाई पाँच खेल प्रतिबन्ध, फ्रान्सलाई कालो आर्मब्यान्ड लगाउन नदिइएको निर्णय तथा मौसमका कारण खेल तालिका परिवर्तनको प्रयासले पनि प्रतियोगितालाई निरन्तर विवादमा राख्यो । 
खेलको गुणस्तर र रोमाञ्चका कारण २०२६ विश्वकपलाई ऐतिहासिक मानिए पनि विवादहरूको लामो सूचीले एउटा स्पष्ट सन्देश दिएको छ—प्रविधि, प्रशासन र राजनीतिक संवेदनशीलताबीच सन्तुलन कायम गर्न नसके विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता भविष्यमा पनि यस्तै प्रश्नहरूको घेरामा पर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्