नेभिगेशन
खेलकुद

स्पेनमा विजेतालाई १८ लाख जनताको स्वागत

स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराउँदै दोस्रो पटक फिफा विश्वकप जितेपछि विश्वविजेता टोली सोमबार स्वदेश फर्किएको छ । राजधानी म्याड्रिडमा करिब १८ लाख समर्थक सडकमा उत्रिएर टोलीको भव्य स्वागत गरेका छन् ।
न्युजर्सीमा भएको फाइनलको एक दिनपछि स्वदेश पुगेका २६ खेलाडी र प्रशिक्षक टोलीले सर्वप्रथम स्पेनी राजपरिवारसँग भेट गरे । त्यसपछि उनीहरूले प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरे । प्रधानमन्त्री सान्चेजले, ‘सुन्दर खेलशैली, अथक मेहनत र यो ऐतिहासिक जितका लागि प्रशिक्षक र खेलाडीहरूलाई धन्यवाद । तपाईंहरूको खेल हेरेर हामी सबैले अत्यन्त आनन्द लियौं,’ भने ।
त्यसपछि टोली खुला बसमा म्याड्रिडको मध्यभाग हुँदै विजययात्रामा निस्कियो । ‘स्टार्स साइन टुगेदर’ लेखिएको बसमा विश्वकप ट्रफी बोकेका खेलाडीहरूले ‘सोमोस क्याम्पेओनेस’ (हामी च्याम्पियन हौं) लेखिएको टी–सर्ट लगाएर समर्थकसँग नाचे, अभिवादन गरे र उत्सव मनाए ।
प्रशिक्षक लुइस दे ला फुएन्तेले, ‘यति धेरै माया गर्ने समर्थक भएको महान् देशको प्रतिनिधित्व गर्न पाउनु गर्व र भावुक क्षण हो । हामी अत्यन्त खुसी छौं,’ भने ।
प्रधानमन्त्रीको सरकारी निवास मोन्क्लोआ प्यालेस नजिकबाट सुरु भएको विजययात्रा सिबेलेस स्क्वायरमा पुगेर समापन भयो, जहाँ मात्रै करिब एक लाख २० हजार समर्थक उपस्थित रहेको अधिकारीहरूले बताएका छन् । मञ्चमा खेलाडीहरूलाई एक–एक गरी बोलाइयो र प्रत्येकले आफूलाई मनपर्ने गीत बजाउँदै प्रवेश गरे । आफ्नो २५औं जन्मदिन मनाइरहेका आलेक्स बाएनाले विश्वकप ट्रफीसहित प्रवेश गरे । खेलाडीहरूले प्रशिक्षक दे ला फुएन्तेलाई काँधमा उचालेर सम्मान गरे भने स्ट्राइकर बोर्जा इग्लेसियासले केहीबेर डीजेको भूमिका निभाउँदा टोलीका सदस्यहरू मञ्चमा नाचे । गायिका ऐताना, आना मेना र लोला इन्डिगोले पनि प्रस्तुति दिए । अन्त्यमा सम्पूर्ण टोलीले समर्थकमाझ फेरि विश्वकप ट्रफी उचालेर उत्सव मनायो ।
समर्थकहरू बिहानैदेखि ३५ डिग्री सेल्सियससम्मको गर्मीका बीच छाता बोकेर सिबेलेस क्षेत्रमा भेला भएका थिए । फाइनल जितेलगत्तै आइतबार राति पनि म्याड्रिडका सडक, पुएर्ता दे सोललगायतका प्रमुख चोकहरू हजारौं समर्थकले भरिएका थिए । झण्डा फहराउँदै, गीत गाउँदै र नाच्दै उनीहरूले रातभर विजय उत्सव मनाए ।
१९ वर्षीय समर्थक भिक्टर आल्भारेजले, ‘म धेरै खुसी छु । तीन–चार घण्टा मात्रै सुतें, तर टोलीका लागि जे गर्नुपरे पनि तयार छु,’ भने । ५९ वर्षीया सरकारी कर्मचारी गेमा रोडेरोले, ‘यो निकै रोमाञ्चक क्षण थियो । हामी बारमा नगई घरमै बसेर एकाग्र भएर खेल हे¥यौं र अत्यन्त खुसी भयौं,’ भनिन् ।
यो जितसँगै सन् २०२३ को महिला विश्वकप उपाधिसहित स्पेन पुरुष र महिला दुवै विश्वकप एकैसाथ आफ्नो कब्जामा राख्ने पहिलो राष्ट्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, मेक्सिकी राष्ट्रपति क्लाउडिया शेनबाउम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि स्पेनलाई बधाई दिएका छन् ।
यद्यपि उत्सवबीच दुःखद घटना पनि भयो । म्याड्रिडको उत्तरपश्चिमस्थित सलामान्कामा विजय मनाउने क्रममा साथीहरूसँग फोहरामा चढेका १३ वर्षीय बालकको फोहरा भत्किँदा मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । स्पेनले यसअघि सन् २०१० मा पहिलो पटक पुरुष विश्वकप जितेको थियो । अहिलेको आर्थिक र सामाजिक रूपमा बढी स्थिर स्पेनका लागि यो उपाधि राष्ट्रिय गौरव र एकताको नयाँ प्रतीक बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्