नेभिगेशन
खेलकुद

६ वटा विश्वकप खेल्ने ओचोआले टुंग्याए २२ वर्षे करिअर

विश्व फुटबलका चर्चित गोलरक्षक तथा मेक्सिकोका दिग्गज खेलाडी गुइलेर्मो ओचोआले २२ वर्ष लामो व्यावसायिक फुटबल यात्रालाई औपचारिक रूपमा अन्त्य गरेका छन् । ४१ वर्षीय ओचोआले सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै क्लब र राष्ट्रिय टोली दुवैबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । गत साता मात्रै ४१ वर्ष पुगेका ओचोआले यसअघि सन् २०२६ को फिफा विश्वकप आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका थिए । त्यसपछि उनी अर्को क्लबमा आबद्ध भएर केही समय खेल्न सक्ने चर्चा चलिरहेको थियो । तर मंगलबार उनले ती सबै अड्कलबाजीको अन्त्य गर्दै सन्न्यासको घोषणा गरे ।
‘मैले मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिएँ । क्लब र देशका लागि गर्नुपर्ने कुनै पनि प्रयास बाँकी राखिनँ । आज म आफ्ना गोलकिपिङ पञ्जा झुन्ड्याउँदैछु,’ उनले लेखेका छन् । उनले गोलरक्षकको जीवनलाई सम्झँदै भनेका छन्, ‘गोलरक्षक हुनु भनेको ९० मिनेटसम्म एउटा क्षणको प्रतीक्षा गर्नु हो, जहाँ सबै जिम्मेवारी तपाईंमाथि हुन्छ । त्यो क्षण आएपछि कुनै हिचकिचाहट हुनुहुँदैन ।’
ओचोआ विश्व फुटबल इतिहासमा लगातार छ वटा फिफा विश्वकपको टोलीमा स्थान बनाउने दुर्लभ खेलाडीमध्ये एक हुन् । यो उपलब्धि उनीसँगै केवल क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीसँग मात्रै छ । उनले सन् २०१४ (ब्राजिल), २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा मेक्सिकोका पहिलो रोजाइका गोलरक्षकका रूपमा टोलीको नेतृत्व गरेका थिए ।
उनले सन् २००४ को फेब्रुअरीमा मेक्सिको सिटीको क्लब अमेरिकाबाट व्यावसायिक फुटबलमा डेब्यु गरेका थिए । सात सिजनपछि उनी फ्रान्सको अजासियो क्लब पुगे र युरोपेली लिगमा खेल्ने पहिलो मेक्सिकन मूलका गोलरक्षक बने । त्यसपछि उनले मालागा, ग्रानाडा, स्ट्यान्डर्ड लिज, सालेर्निटाना, एभिएस फुटबल र एईएल लिमासोलजस्ता क्लबबाट पनि खेले । सन् २०१९ देखि २०२२ सम्म भने उनी पुनः क्लब अमेरिकामा फर्किएका थिए ।
‘एउटा सपना मलाई यति टाढासम्म ल्याउला भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । आज पछाडि फर्केर हेर्दा गर्व मात्रै महसुस हुन्छ । मलाई माया गर्ने लाखौं समर्थकप्रति धन्यवाद । मेक्सिकोका लागि आफ्नो सम्पूर्ण क्षमता दिएको सन्तुष्टि लिएर म बिदा हुँदैछु,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।
हालै सम्पन्न विश्वकपमा उनी मुख्यतः वैकल्पिक गोलरक्षकका रूपमा टोलीमा थिए । प्रशिक्षक हाभियर अग्विरेले चेकियाविरुद्धको समूह चरणको अन्तिम खेलमा अन्तिम १३ मिनेटका लागि उनलाई मैदानमा उतारेका थिए । खेल सकिएपछि ओचोआले आफ्नै करिअर सुरु भएको प्रतिष्ठित अज्टेका रंगशालामा गोलपोस्ट चुमेर भावुक बिदाइ लिएका थिए । उनले घुँडा टेकेर आफ्ना सहकर्मीको अँगालो स्वीकार गरेका थिए भने दर्शकहरू बाहिरिएपछि पनि केही समय मैदानको केन्द्रमा उभिएर आफ्नो अन्तिम क्षणलाई सम्झिएका थिए ।
क्लब स्तरमा उनले क्लब अमेरिकालाई सन् २००५ को क्लाउजुरा लिग उपाधि जिताउन महŒवपूर्ण भूमिका खेलेका थिए भने स्ट्यान्डर्ड लिजबाट बेल्जियन कप पनि जिते । राष्ट्रिय टोलीबाट उनले मेक्सिकोलाई छ पटक कन्काकाफ गोल्ड कपको उपाधि दिलाउन योगदान दिए । साथै टोकियो २०२० ओलम्पिकमा कांस्य पदक जित्ने टोलीका सदस्यसमेत बने । ओचोआको सन्न्याससँगै मेक्सिकन फुटबलको एउटा स्वर्णिम अध्याय औपचारिक रूपमा समाप्त भएको छ । विश्वकपमा असम्भवजस्ता बचाउ गरेर करोडौं समर्थकको मन जित्ने यो गोलरक्षक अब इतिहासका अविस्मरणीय नाममध्ये एक बनेर रहनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद