नेभिगेशन
राजनीति
सांसदलाई रवि लामिछानेको आग्रह

‘जिल्ला जानुस्, समन्वयकारी भूमिका खेल्नुस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशमा पछिल्ला घटनाक्रमपछि उत्पन्न तनावपूर्ण अवस्थालाई संवाद, सहिष्णुता र सामाजिक सद्भावमार्फत समाधान गर्न पार्टीका सांसदहरूलाई सक्रिय रूपमा मैदानमा उत्रिन निर्देशन दिएका छन् । साथै उनले मधेसकेन्द्रित राजनीतिक दलका नेताहरूसँग पनि छलफल गर्दै वर्तमान समस्याको निकासका लागि साझा पहल आवश्यक रहेको बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूसँग भएको छलफलमा  लामिछानेले प्रभावित जिल्लामा पुगेर स्थानीय तह, प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्न आग्रह गरे ।
सुनसरीको दक्षिणवर्ती देवानगञ्जबाट सुरु भएको अशान्ति सिरहा र धनुषासम्म पुगेपछि त्यसलाई मत्थर पार्न उनले सांसदहरुको भूमिका खोजेका छन् । पुराना दलहरुजस्तो ग्रामीण तहमा आफ्नो पार्टीको संगठन नहुनुले यतिबेला सत्तारुढ दल रास्वपालाई गाह्रो परेको छ । कतिपय सांसदसमेत आफ्नो निर्वाचन क्षेत्रमा भिजेका र स्थानीयसँग अपेक्षित घुलमिल भएका नपर्दा संकटको निकास खोज्ने बेला उनीहरुको सक्रियता प्रभावकारी देखिएको छैन ।
बैठकपछि सांसद रहबर अन्सारीले सुनसरी घटनापछि विकसित परिस्थितिबारे सभापति लामिछानेले सांसदहरूलाई विस्तृत जानकारी गराएको बताए । सांसदहरूलाई आआफ्ना निर्वाचन क्षेत्र र जिल्लामा पुगेर सामाजिक सद्भाव अभिवृद्धि गर्ने, समुदायबीच संवाद बढाउने तथा कुनै पनि प्रकारको द्वेष र विभाजन फैलाउने प्रयासलाई निष्प्रभावी बनाउन सक्रिय हुन निर्देशन दिइएको छ ।
अन्सारीले पार्टीका सबै सांसद शुक्रबारदेखि आफ्ना क्षेत्रमा जाने तयारीमा रहेको जानकारी दिँदै राज्यका सम्बन्धित संयन्त्रसँग सहकार्य गरेर सामाजिक सद्भाव कायम राख्ने अभियानमा जुट्ने बताए । गोली चल्नु र त्यसबाट नागरिकको ज्यान जानु दुःखद घटना भएको उल्लेख गर्दै उनले सामाजिक सद्भाव भड्किनु सम्पूर्ण देशकै साझा चिन्ताको विषय भएकाले सबै पक्षले संयमता अपनाउनुपर्ने धारणा व्यक्त गरे ।
यसैबीच सभापति लामिछानेले बिहीबार नै मधेसकेन्द्रित राजनीतिक दलका नेताहरूसँग पनि छुट्टै छलफल गरेका छन् । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत मधेसकेन्द्रित दलका नेताहरू सहभागी थिए ।
रास्वपाको सचिवालयका अनुसार देशमा देखिएको वर्तमान समस्या, विशेषगरी मधेस क्षेत्रमा विकसित अवस्थाबारे साझा धारणा बनाउन तथा संवादमार्फत समाधानको बाटो खोज्न बैठक केन्द्रित भएको थियो । छलफलमा सामाजिक सद्भाव कायम राख्ने, तनावलाई थप फैलिन नदिने र सबै समुदायबीच विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलहरूले समन्वयात्मक भूमिका खेल्नुपर्ने विषयमा जोड दिइएको जनाइएको छ ।
रास्वपाले पछिल्ला घटनाक्रमलाई गम्भीर रूपमा लिँदै आफ्ना सांसदलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने र विभिन्न राजनीतिक दलसँग निरन्तर संवाद गर्दै सामाजिक सद्भाव कायम राख्न पहल गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्