नेभिगेशन
राजनीति

‘सामाजिक सद्भाव कायम राखौं’

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकासहित तराईका विभिन्न जिल्लामा बढेको अशान्तिका प्रमुख राजनीतिक तथा संवैधानिक नेतृत्वले संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र संवादमार्फत समस्याको समाधान खोज्न संयुक्त रूपमा आग्रह गरेका छन् ।
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै सुनसरीमा राज्य पक्षबाट भएको बल प्रयोग, त्यसक्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर भएको मृत्यु तथा अन्य नागरिक घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले नागरिकबीचको एकता नै राष्ट्रको बल भएको उल्लेख गर्दै भ्रामक प्रचारको पछि नलाग्न, संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई आग्रह गरेका छन् । 
सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भत्र्सनायोग्य भएको उल्लेख गर्दै उनले हिंसा तत्काल रोक्न र संवादमार्फत समाधान खोज्न सरकारसँग माग गरेका छन् । साथै मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उत्पन्न तनाव र हिंसाका घटनाप्रति दुःख व्यक्त गरेकी छन् । नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले विविधताबीचको एकता र सामाजिक सद्भाव जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले अफवाह र उक्साहटपूर्ण अभिव्यक्ति नदिन सबैलाई आग्रह गरेकी छन् । उनले घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा प्रभावित क्षेत्रमा शान्ति र नागरिकको विश्वास पुनःस्थापित गर्न सरकारसँग माग गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपिल जारी गर्दै सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र भ्रातृत्व नै नेपालको पहिचान भएको उल्लेख गरेका छन् । राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता सुदृढ गर्न तथा समुदायबीचको मेलमिलाप कायम राख्न आग्रह गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न उनले सरकारलाई अनुरोध गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीबाट सुरु भएको तनाव अन्य क्षेत्रमा फैलिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुधार्मिक सहअस्तित्वको परम्परामा कुनै खलल पुग्न नदिन आग्रह गरेका छन् । उनले नेपालीहरूबीचको एकता र मेलमिलाप नै वर्तमान परिस्थितिको प्रमुख आवश्यकता भएको बताएका छन् ।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पनि विदेशबाट सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै सहअस्तित्व, आपसी सद्भाव र शान्ति नेपाली समाजको मूल विशेषता भएको उल्लेख गरेका छन् । उनले हिंसा थप भड्किन नदिन सबै राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्