नेपालमा प्रत्येक वर्ष श्रावण १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आएको छ । कृषि, संस्कृति, स्वास्थ्य र सामाजिक सद्भावलाई एकैसाथ जोड्ने यो दिन नेपाली मौलिक खानाको संरक्षण, दुग्धजन्य पदार्थको प्रवर्धन, किसानको सम्मान तथा डेरी उद्योगको सुदृढीकरणका दृष्टिले विशेष महŒव राख्दछ । यस अवसरमा नेपाल डेरी एसोसिएसनले पनि हरेक वर्ष विभिन्न संघसंस्था र सरोकारवालासँग सहकार्य गर्दै खिर प्रवर्धनसम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको छ ।
यस वर्ष पनि केन्द्र, आफ्ना सबै प्रदेश समिति र जिल्ला समितिहरूमा ‘खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ कार्यक्रम मनाउने जानकारी आएको छ । यो अत्यन्तै राम्रो र महŒवपूर्ण विषय हो । सरोकारवाला सबैले यसरी नै प्रवर्धन हुने खालकालका कार्यक्रमहरू गर्नुपर्छ । एसोसिएसनले श्रावण १५ मा खिर खाऔं, नेपाली मौलिक संस्कृति जोगाऔं भन्दै सबै स्थानमा आफ्ना कार्यक्रमहरू गरिरहेको छ ।
नेपाल कृषि प्रधान देश हो । असार महिनाभर धान रोपाइँमा किसानले गरेको कठिन श्रमपछि श्रावण १५ लाई परिवार, आफन्त र समुदायसँग खिर खाई खुसी साटासाट गर्ने परम्पराले श्रमप्रतिको सम्मान, प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक एकता र सामाजिक सद्भावको सन्देश दिन्छ । यो दिनले नेपाली जीवनशैली, कृषि सभ्यता र मौलिक संस्कृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको परम्पराको संरक्षण गर्न प्रेरित गर्दछ ।
खिर नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा पारिवारिक जीवनसँग अभिन्न रूपमा जोडिएको मौलिक तथा पोषणयुक्त परिकार हो । दूध, चामल, चिनी वा गुड, घिउ तथा सुक्खा फलफूलबाट तयार हुने खिरले शरीरलाई आवश्यक ऊर्जा, उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन तथा खनिज तŒव प्रदान गर्छ । यसले हड्डी र दाँत बलियो बनाउन, मांसपेशीको विकास गर्न, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकको पोषणमा महŒवपूर्ण योगदान पु¥याउँछ । हाम्रो स्वाद, स्वास्थ्य र संस्कृतिको अनुपम संगमका रूपमा खिर नेपाली जीवनशैलीको महŒवपूर्ण हिस्सा बनेको छ ।
राष्ट्रिय खिर दिवसले केवल एउटा परिकारको महŒव मात्र उजागर गर्दैन, यसले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको उपभोग वृद्धि, स्थानीय कृषि उत्पादनको उपयोग, पोषण सुरक्षाको प्रवर्धन, किसानको आय अभिवृद्धि तथा डेरी उद्योगको विकासमा समेत सकारात्मक योगदान पु¥याउने सन्देश दिन्छ । यस वर्ष श्रावण १५ का अवसरमा देशभर करिब १ करोड लिटर दूध खपत भई करिब १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान नेपाल डेरी एसोसिएसनले गरेको छ । जसबाट दुग्ध किसान, डेरी उद्योग तथा राष्ट्रिय अर्थतन्त्रले प्रत्यक्ष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
खिरको उल्लेख हिन्दू धार्मिक ग्रन्थ तथा जनविश्वासमा शुभ, पवित्र र सात्त्विक भोजनका रूपमा पाइन्छ । क्षीर (दूध)लाई वैदिक परम्परामा शुद्धता, समृद्धि र जीवनको प्रतीक मानिएको छ भने दूधबाट तयार हुने खिरलाई देवताहरूलाई अर्पण गरिने उत्कृष्ट नैवेद्यका रूपमा लिइन्छ । विभिन्न पूजा, यज्ञ, व्रत, विवाह, व्रतबन्ध, जन्मोत्सव तथा शुभ कार्यमा खिर प्रसादका रूपमा चढाउने र ग्रहण गर्ने परम्परा रहिआएको छ । पुराणहरूमा राजा दशरथले पुत्रेष्टि यज्ञ सम्पन्न गरेपछि प्राप्त भएको पायस (खिर) आफ्ना रानीहरूलाई खुवाउँदा भगवान् राम, भरत, लक्ष्मण र शत्रुघ्नको जन्म भएको प्रसंग प्रसिद्ध छ । यसैले खिरलाई शुभफल, सन्तान प्राप्ति, समृद्धि, सुख, शान्ति र मंगलको प्रतीक मानिन्छ । नेपाली समाजमा पनि श्रावण १५ मा खिर खाने परम्पराले किसानको श्रमको सम्मान, प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृति र सभ्यताको निरन्तरताको सन्देश दिने विश्वास रहिआएको छ ।
आजको तीव्र आधुनिक जीवनशैलीमा नेपाली मौलिक संस्कृति, परम्परा र खानपान क्रमशः ओझेलमा पर्दै गइरहेका सन्दर्भमा राष्ट्रिय खिर दिवसले आफ्नै मौलिक पहिचानप्रति गर्व गर्ने, परिवार र समाजबीचको आत्मीयता बढाउने तथा नयाँ पुस्तालाई नेपाली संस्कार, संस्कृति र मौलिक खानाको महŒव हस्तान्तरण गर्ने अवसर प्रदान गर्दछ । कुनै पनि राष्ट्रको पहिचान त्यसको भाषा, संस्कृति, परम्परा र मौलिक खानपानबाट स्थापित हुन्छ । त्यसैले यस्ता मौलिक परम्पराको संरक्षण र प्रवर्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।
(लेखक दाहाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुन् ।)