काठमाडौं, ३० भदौ - जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्दै सरकारले उनीहरुका परिवारलाई १५-१५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको सोमबारको पहिलो बैठकले जेनजी जागरण पार्क बनाउने पनि निर्णय गरेको छ । पार्कका लागि ठाउँ भने खोजिने बताइएको छ । जेनजी प्रदर्शनको क्रममा सरकारबाट भएको दमनबारे छानबिन गर्नका लागि न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषद् विस्तारसँगै पहिलोपटक बसेको बैठकले आन्दोलनमा दिवंगत भएकाहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । ज्यान गुमाउनेहरूका परिवारलाई यस अघिदेखिको सरकारले दिँदै आएको १० लाख रुपैयाँ र अन्य खर्चबापत ५ थपेर जम्मा १५ लाख रुपैयाँ दिने निर्णय भएको अर्यालले बताएका छन् ।
‘ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने, असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय भएको छ,’ उनले जानकारी दिएका छन्, ‘ज्यान गुमाउनेहरू दुर्गम जिल्लाका भएमा यातायात र हवाई खर्च सरकारले बेहोर्ने निर्णय पनि बैठकले गरेको छ ।’ घोषणा गरिएको रकम अर्थ मन्त्रालयमार्फत निकासा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने बताइएको छ । घाइतेहरूको निःशुल्क उपचार जारी राख्ने निर्णय पनि सरकारले गरेको छ ।
दिवंगत प्रहरीलाई १० लाख
नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइने भएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार महानिरीक्षकदेखि निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो ।
जेनजी आन्दोलनमा परेका ७२ जनाको ज्यान गइसकेको छ । जसमा प्रहरी ३ जना छन् । कोटेश्वरमा १३ जना प्रहरी घाइते भएका थिए, त्यसमध्ये दुईजनाको अवस्था अझै गम्भीर छ ।
उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालय तथा इकाईमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । विभिन्न स्थानका क्षतिको पूर्ण विवरण अझै तयार भइसकेको छैन ।