नेभिगेशन
अर्थतन्त्र

देशकै ठूलो पेट्रोलियम भण्डार डिपो बन्दै, वार्षिक १ अर्ब ढुवानी खर्च जोगिने

काठमाडौ । नेपाल आयल निगमले चितवनको लोथरमा उच्च क्षमताको पेट्रोलियम इन्धन भण्डारण डिपो निर्माण गर्न प्रारम्भिक चरणको काम सुरु गरेको छ । निगमले भण्डारण डिपोको भौतिक संरचनाको निर्माण थाल्नुअघि पूर्वतयारीको काम सुरु गरेको हो ।डिजेल, पेट्रोल, मट्टितेल तथा हवाई इन्धन भण्डारण गर्न सकिने गरी डिपो निर्माण गर्नका लागि अधिग्रहण गरिएको जग्गामा पर्खाल लगाउने तथा माटो भर्ने कार्य गर्न सुरु गरिएको आयोजना प्रमुख प्रदीप यादवले बताए । उनका अनुसार इन्धन भण्डार डिपोको शिलान्यास गरी पूर्व तयारीका कामहरूको थालनी गरिएको छ । 
‘यो आयोजना पेट्रोलियम इन्धन भण्डारण क्षमता विस्तार एवम् नियमित आपूर्तिको दीर्घकालीन सुरक्षाका लागि रणनीतिक योजना बमोजिम लामो समयदेखि निगमको योजनामा थियो’,यादवले भने, ‘अब आयोजनाको काम औपचारिक ढंगले अगाडि बढेको छ । निर्धारित समय र लागतमा नै सम्पन्न गर्ने गरी काम गर्नेछौं ।’ 
आयोजनाअन्तर्गत अमलेखगञ्जदेखि लोथरसम्म ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन तथा आधुनिक पेट्रोलियम भण्डारण डिपोको निर्माण गरिनेछ । आयोजना निर्माण सम्पन्न गर्न १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।  यसमध्ये करिब ५ अर्ब रुपैयाँ पाइपलाइन निर्माणमा खर्च हुनेछ । यो लगानी भारत सरकारमार्फत भारतीय आयल कर्पोरेशन (आइओसी) ले व्यहोर्ने छ । अत्याधुनिक भण्डारण डिपो निर्माणका लागि आवश्यक १० अर्ब रुपैयाँ बराबरको लगानी निगमले गर्नेछ । निगमले गर्ने लगानी पनि आइओसीमार्फत नै खर्च हुने पनि यादवले बताए । 
‘पाइपलाइन र भण्डारण डिपोको संरचना निर्माणको सम्पूर्ण काम आइओसीले आफैं ठेक्का आह्वान गरी ठेकेदार कम्पनी छनोट गरेर गर्नेछ,’ उनले भने, ‘त्यसकारण पनि निगमकोतर्फबाट हुने लगानी बापतको रकम पनि उसैलाई उपलब्ध गराइने छ ।’ निगमका अनुसार आइओसीले अबको ३ महिनाभित्र पाइपलाइन र भण्डारण डिपो निर्माणका लागि एकैपटक अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्नेछ । ठेक्का प्रक्रिया सम्पन्न हुन करिब ६ देखि ८ महिना लाग्ने अनुमान गरिएको छ । त्यसपछि पाइपलाइन बिछ्याउने र भण्डारण डिपो निर्माणको मुख्य काम एकैसाथ अघि बढाइने आयोजना प्रमुख यादवले बताए । 
यो पेट्रोलियम पाइपलाइन तथा इन्धन भण्डारण आयोजना निर्माण सुरु गरेको ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । कुनै अवरोध नभएमा यो आयोजना साढे २ वर्षभित्र सम्पन्न गर्न सकिने यादवको दाबी छ । 
भण्डारण क्षमता ९२ हजार किलोलिटर 
भण्डारण डिपोको क्षमता करिब ९२ हजार हजार किलोलिटर हुनेछ । पेट्रोल ३३ हजार किलोलिटर, डिजेल ४६ हजार ५ सय किलोलिटर, मट्टितेल १ हजार ६ सय किलोलिटर, हवाई इन्धन १० हजार ८ सय किलोलिटर तथा पानी ९ हजार किलोलिटर भण्डारण गर्न सकिने गरी डिपोको संरचना गरिने आयोजना प्रमुख यादवले जानकारी दिए ।
यो आयोजना नेपाल सरकार र भारत सरकारबीच जीटुजी मोडेलअन्तर्गत अघि बढाइएको हो । आयोजना सम्बन्धी समझदारी २०८० सालको जेठ महिनामै भएको थियो ।
वार्षिक १ अर्ब ढुवानी खर्च जोखिने 
अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइललाइन विस्तार हुँदा वार्षिकरूपमा १ अर्ब रुपैयाँ बराबरको ढुवानी भाडा बापतको खर्च कटौती हुनेछ । अहिले सञ्चालनमा रहेको अमलेखगञ्ज–मोतिहारी पाइपलाइनबाट वार्षिक करिब २ अर्ब रुपैयाँ ढुवानी खर्च बचत भइरहेकोमा अमलेखगञ्ज–लोथर पाइपलाइन निर्माणले थप १ अर्ब रुपैयाँ बचत हुने यादवले बताए । नयाँ भण्डारण पूर्वाधार सञ्चालनमा आएपछि सम्बन्धित क्षेत्रमा करिब डेढ महिनासम्म पुग्ने इन्धन मौज्दात राख्न सकिने निगमले जनाएको छ । यो पूर्वाधार निर्माणले देशको पेट्रोलियम भण्डारण क्षमता पनि करिब दोब्बर हुनेछ । अहिले देशभरको पेट्रोलियम भण्डार क्षमता १ लाख किलोटिर छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्