नेभिगेशन
राजनीति

शशांकको नेतृत्वमा कांग्रेस इतर पक्षद्वारा मूल आयोजक समिति घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सुदृढीकरण र आन्तरिक रूपान्तरणका लागि डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय 'मूल आयोजक समिति' घोषणा गरेको छ ।
शनिबार चुनदेवीस्थित सो समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत नेता कोइरालाको नेतृत्वमा विशाल मूल समितिसहित विभिन्न १६ वटा उपसमितिहरू गठन गरिएको आधिकारिक जानकारी दिइएको हो । पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका मुख्य नेताहरूबाट सार्थक भूमिका नदेखिएपछि आम कार्यकर्ता, जनप्रतिनिधि र शुभचिन्तकहरूमा छाएको चिन्ता तथा निराशालाई सम्बोधन गर्न यो कदम चालिएको इतर पक्षले प्रस्ट पारेको छ ।
पत्रकार सम्मेलनमा आफ्नो विशेष विचार राख्दै संयोजक डा. शशांक कोइरालाले हरेक चुनौतीको सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्यदिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न बाध्य हुनुपरेको बताए । आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने तय भएको उक्त राष्ट्रिय भेलामा पार्टीभित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म-सांस्कृतिक लगायत नागरिक जीवनसँग जोडिएका विविध गम्भीर सवालहरूमा गहन छलफल हुने उनले जानकारी दिए । इतर समूहले यस राष्ट्रिय भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू र पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरू लगायत सबैलाई खुला हृदयले सहभागी हुन समेत विशेष आग्रह गरेको छ ।
मुलुकको वर्तमान परिस्थितिलाई औंल्याउँदै नेता कोइरालाले लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको र धार्मिक तथा साम्प्रदायिक द्वन्द्वका घटनाहरू दिन प्रतिदिन बढिरहेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको विचार व्यक्त गरे । उनले सुनसरी लगायतका स्थानमा भएका हालैका अप्रिय घटनाका घाइतेहरूको उचित स्वास्थ्योपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग जोडदार माग समेत गरे । राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक राजनीतिक दलभित्रको बलियो एकतासहित राष्ट्रिय शक्तिहरू बीच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता रहेको ठहर गर्दै इतर समूहले यो अभियानमार्फत देशव्यापी रूपमा नयाँ सन्देश प्रवाह गर्ने रणनीति अख्तियार गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्