नेभिगेशन
नेपाल

‘ब्रोड पिक’मा ज्यान गुमाएका निर्मल पुर्जासहितका नेपालीप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’ हिमालमा आएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीहरूप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले यस अभूतपूर्व दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्। उनले फेसबुकमा विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकमा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको लेखेका छन्।
उनले निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको र उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उल्लेख गरेका छन्।
पाकिस्तानको ब्रोड पिकमा बिहीबार आएको तीव्र गतिको हिमपहिरोमा परी विश्वकै चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित १० जनाको टोली बेपत्ता भएको थियो। पुर्जा संस्थापक रहेको आरोहण कम्पनी 'इलाइट एक्सपे' ले शनिबार सम्पूर्ण आरोहीहरूको निधन भएको दुःखद पुष्टि गरेपछि मुलुक शोकमा डुबेको छ।
दुर्घटनामा निम्सदाइसँगै उनका भरपर्दा सहयोगी एवं हिमालका अनुभवी गाइडहरू पुर बहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पाले पनि ज्यान गुमाएका छन्। टोलीमा ओमान, अमेरिका र चीनका गरी चार विदेशी आरोहीहरू समेत रहेका थिए, जसको सबैको घटनास्थलमै मृत्यु भएको छ।
सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा माथिका सबै १४ वटा हिमालहरू मात्र ६ महिना ६ दिनमा सफलतापूर्वक आरोहण गरेर निर्मल पुर्जाले विश्व कीर्तिमान रचेका थिए। नेटफ्लिक्सको लोकप्रिय वृत्तचित्र '१४ पिक्स: नथिङ इज इम्पोसिबल' मार्फत नेपाली पर्वतारोही र शेर्पाहरूको वीरतालाई विश्वसामु स्थापित गराउन उनले ऐतिहासिक नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवार, आफन्तजन तथा हिमाल आरोहण क्षेत्रका सम्पूर्ण शुभचिन्तकहरूमा गहिरो समवेदना प्रकट गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्